काठमाडौ: अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार नेपाल भ्रमणमा आउने भएकी छन्।
उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाललगायतसँग भेटेर एमसिसी कार्यान्वयन अवस्थाबारे जानकारी लिने बताइएको छ।
यो परियोजना कार्यान्वयनमा सत्तारुढ नेपाली कांग्रेस तयार भए पनि गठबन्धनभित्रकै नेकपा माओवादी केन्द्र सम्झौतामा उल्लेख भएका विषय परिमार्जन नगरी कार्यान्वन गर्न नहुने पक्षमा छ।
ओली प्रधानमन्त्री रहेका बेला एमालेका वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वमा गठन भएको कार्यदलले एमसिसी हुबहु कार्यान्वयन गर्न नहुने प्रतिवेदन सरकारलाई बुझाएको थियो।
ओली एमसिसी कार्यान्वयनका पक्षमा भए पनि उनकै दल तत्कालीन नेकपाका कतिपय नेता विपक्षमा उत्रिएपछि यो विषय अघि बढ्न सकेको थिएन।
एमसिसी कार्यान्वयनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका पनि सकारात्मक नभएको गुनासो प्रधानमन्त्री छँदा ओलीले गरेका थिए।
