काठमाडौ: बुधवार बेलुका प्रधानमन्त्री निवास बालुवाटामा बसेको मन्त्रिपरिषद्को बैठकले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति बनाएकाे हो ।
गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ रहेको समितिले सीमा र स्थानीयवासीको समस्याबारे अध्ययन गरी प्रतिवेदन बुझाउने बताइएको छ ।
यस्तै सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको छ ।
समितिमा प्राध्यापक नारायणप्रसाद पौडेल र नेपाल कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य रहनुभएको छ ।
सरकारले अघिल्लो सरकारले अध्यादेशमार्फत वृद्धि गरेको ३३ प्रतिशतको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।
बैठकले मेडिकल काउन्सिलको रिक्त सदस्य पदमा मोरङका डा. विक्रान्त ढकाललाई र युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा कास्कीका विश्वमोहन अधिकारीलाई नियुक्त गरेको छ ।
यस्तै सरकारले निर्वाचन आयोगमा कार्यरत सहसचिव राजकुमार श्रेष्ठलाई सचिव पदमा बढुवा गरेको छ ।
सरकारले दिगो तथा सम्मानित रोजगारीका लागि सञ्चालित सीप परियोजनाका लागि स्विस सरकारको अनुदान सहायता झन्डै एक अर्ब ९३ करोड रुपैयाँ स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले माओवादी जनयुद्ध २०६२/०६३ को आन्दोलन, मधेश आन्दोलनका घाइते अपाङ्गको पुनर्स्थापना हेरचाह, सहायतासम्बन्धी निर्देशिकाको दोस्राे संशाेधन २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले पाकिस्तानको माउन्ट के–२ को सफल आरोहण गर्ने दावा तेन्जिङ शेर्पाको टोलीलाई प्रोत्साहन स्वरूप जनही एक लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ ।
