काठमाडौं, मंसिर १४ ।
२० देशका महिलाहरूको सहभागितामा आयोजना गरिएको विश्व महिला सम्मेलन (World Women Conference) को सैद्धान्तिक सेमिनार काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ। तीन दिनसम्म चलेको यो सेमिनार कपनस्थित सुकुण्डा पार्टी प्यालेसमा सम्पन्न भएको हो। सहभागीदेशहरुमा रसिया,फ्रान्स,भारत,बंगलादेश,टर्की,जर्मनी,पेरु,नेपाल,नेदरल्ण्ड,क्यानारु,सिरिया,पेलेस्टाईन,इराक,ईरान,कुर्तिस्थान,श्रीलंका,अफगानिस्तान ,साउथ अफ्रिका,वोत्स्वाना रहेका थिए।
कार्यक्रममा विभिन्न महादेशका महिलाहरूको प्रत्यक्ष तथा भर्चुअल उपस्थिति रहेको आयोजक संस्थाले जनाएको छ। अष्ट्रेलिया, बेलायत र क्यानाडाबाट प्रतिनिधिहरूले भर्चुअल माध्यममार्फत आफ्ना कार्यपत्र प्रस्तुत गरे। उनीहरूले विश्व महिला आन्दोलनको वर्तमान अवस्था, लैङ्गिक असमानताविरूद्धको संघर्ष, नारी नेतृत्व सुदृढीकरण तथा समसामयिक राजनीतिक–सामाजिक चुनौतीबारे महत्वपूर्ण तर्क र अवधारणाहरू राखे।
सम्मेलनमा सहभागी अन्य देशका प्रतिनिधिहरूले महिला अधिकार, श्रम शोषण, मानव बेचबिखन, घरेलु हिंसा, राजनीतिक सहभागिता र आर्थिक सशक्तीकरणजस्ता मुद्दामा विस्तृत रूपमा छलफल सञ्चालन गरे। सेमिनारले विश्वव्यापी रूपमा महिलामाथि भइरहेका अत्याचार र दमनका विरुद्ध साझा रणनीति निर्माण गर्नुपर्ने निष्कर्ष निकालिएको बताइएको छ।
कार्यक्रममा नेपालका महिला नेतृ, विज्ञ, सामाजिक अभियन्ता तथा विभिन्न संगठनका प्रतिनिधिहरूको समेत सक्रिय सहभागिता थियो। सेमिनारका निष्कर्ष, प्रतिबद्धता र आगामी कार्यदिशा तय गर्दै आयोजकले महिला अधिकारका मुद्दामा अन्तरराष्ट्रिय एकता, सहकार्य र निरन्तर संघर्षको आवश्यकतामा जोड दिएको छ।
तीनदिने सैद्धान्तिक सेमिनार सम्पन्नसँगै विश्व महिला सम्मेलनले महिलाको विश्वव्यापी आन्दोलनलाई अझ संगठित र प्रभावकारी बनाउने लक्ष्य अघि सारेको छ।

