सोमबार रातिदेखि फैलिएको झाडाबान्तापछि बुधबार बिहानसम्म २ सय ४० जना बिरामी अस्पताल आइपुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।
कार्यालयका हेल्थ असिष्टेन्ट उमेश घिमिरेले बुधबार बिहानसम्म २ सय ४० जना बिरामी अस्पताल आएकोमा केहीलाई अन्यत्र रिफर गरिएको जानकारी दिए।
मंगलबार दिउँसोसम्म अस्पताल र गाउँघरका क्लिनिकमा गरी करिब २ सय जना बिरामी परेकोमा मंगलबार रातिदेखि बुधबार बिहानसम्म करिब ५० जना बिरामी थपिएको घिमिरेले बताए। अहिले पनि झाडाबान्ताको समस्या लिएर अस्पताल र क्लिनिकहरूमा आउने क्रम जारी रहेको छ।
कृष्णनगरको सुखरामपुर, जमुनी, देवानगडिया, बहादुरगञ्ज, गणेशपुर, डावरा दयानगर, विजयनगर, जुमिला लगायतका गाउँमा सोमबारदेखि झाडापखाला र बान्ताका बिरामी देखिएका थिए।
गाउँभरि झाडापखालाका बिरामी फैलिएपछि लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको टोलीले झाडापखाला फैलिएका गाउँ र बिरामीहरूको अवस्था बुझ्न कृष्णनगर पुगेको छ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन भए पनि बिरामी आउने क्रम जारी रहेको बताए।
बिरामीहरू सबैलाई शिवराज अस्पताल बहादुरगञ्जमा भर्ना गर्न नसकिएपछि बुटवल र तौलिहवा रिफर गरिएको पाण्डेले जानकारी दिए पाण्डेका अनुसार १३ जना बिरामीलाई तौलिहवा र ८ जनालाई बुटवलतर्फ पठाइएको छ।
अस्पतालमा बिरामीहरूको चाप थेग्न नसकेपछि गाउँका निजी क्लिनिक, अस्पतालका गल्ली, बरण्डा र विद्यालयका चौरमा राखेर समेत उपचार गरिएको पाण्डेले बताए।

