काठमाडौं: सत्तागठबन्धनबीच मन्त्रालयको संख्या र नाममा भागबण्डा टुंगिएको छ। गठबन्धनका शीर्ष नेताहरूको मंगलबार बसेको बैठकले छिट्टै मन्त्रीपरिषदलाई पूर्णता दिने समेत निर्णय गरेको छ।
कांग्रेसले ८, माओवादीले ५, नेकपा एकीकृत समाजवादी र जसपाले ४/४ मन्त्रालय लिने सहमति भएको हो। कांग्रेसले गृह, परराष्ट्र र कानुन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लिइसकेको छ।
अब, सञ्चार तथा सुचना प्रविधि, रक्षा, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय कांग्रेसले लिनेछ।
प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा (एस) का अध्यक्ष नेपाल तथा जसपा अध्यक्ष उपेन्द्र यादवसहित सत्तारुढ दलका नेताहरूको बैठक बसेको थियो।
माओवादी केन्द्रले अर्थ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय लिइसकेको छ। माओवादीको भागमा शिक्षा तथा विज्ञान प्रविधि, खानेपानी, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय लिनेछ।
त्यस्तै एसले उद्योग वाणिज्य तथा आपूर्ति, शहरी विकास, श्रम रोजगार तथा सामजिक सुरक्षा र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पाउने भएको छ।
जसपाले भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र कृषि तथा पशुपन्छी मन्त्रालय पाएको छ।
कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस)ले एक एक राज्यमन्त्री पाउने सहमति भएको छ।
गठबन्धनबीच जसपालाई उपसभामुख दिने सहमतिसमेत भएको छ। मन्त्रालयको टुंगो लागेसँगै गठबन्धनका दलहरू मन्त्री छनोटमा लागेका छन्।

