काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ ।पार्टीका नेता तथा कार्यकर्ता शान्तिबाटिकामा जम्मा भइ जुलुससहित न्यूरोडस्थिति भूगोल पार्कमा पुगेर क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन उद्घाटन गरिएको हो ।
बिहीबारबाट काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय एकता महाधिवेशनमा बोल्दै संयोजक वैद्यले मुलुकमा क्रान्तिका लागि पस्थिति अनुकूल बन्दै गएको दाबी समेत गरे।
उनले क्रान्तिकारी कम्युनिष्ट आन्दोलन हालका लागि कमजोर अवस्थामा रहेको स्वीकार गर्दै आगामी दिनमा बलियो भएर जाने विश्वास व्यक्त गरे। संयोजक वैद्यले मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको नेतृत्व क्रान्तिकारी कम्युनिष्ट पार्टीहरूले लिने पनि बताए।
उनले भने, ‘सरकार सञ्चालक राजनीतिक दलहरू र समस्त व्यवस्था तथा राज्यसत्ताप्रति नै जनतामा असन्तुष्टि, आक्रोश तथा वितृष्णा बढ्दै जाने र विकल्पको खोजी गर्ने अवस्था पैदा हुन थालेको छ। उक्त कुराहरूमाथि दृष्टि दिँदा आज एकातिर क्रान्तिका लागि वस्तुगत परिस्थिति अनुकूल बन्दै जान थालेको देखिन्छ। परन्तु अर्कोतिर आत्मागत परिस्थिति भने कमजोर नै रहेको छ। तर यो पनि अस्थायी कुरा हो। परिस्थितिले कोल्टे फेर्दै जानेछ। आज क्रान्तिकारी कम्युनिष्ट आन्दोलन कमजोर अवस्थामा भएपनि भोलि बलियो हुनेछ। यो कुरा नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासले पनि प्रमाणित गरेको छ।’
२३ मंसिरसम्म चल्ने महाविधेशनमा विचारको बहससहित दस्तावेज पास गरेर नयाँ नेतृत्व चयन हुनेछ । महाधिवेशनमा भारत, जर्मनी, टर्कीसहितका देशबाट पनि प्रतिनिधि आएका छन् ।
महाधिवेशन १० दिनसम्म चल्नेछ।
नेकपा बहुमत र नेकपा मसालका सन्तबहादुर नेपालीसँग पार्टी एकता भएपछि महाधिवेशन गरिएको हो। त्यसकारण यसलाई एकताको महाधिवेशन पनि भनिएको छ।
मङ्सिर २३ गतेसम्म सञ्चालन हुने महाधिवेशनमा अध्यक्ष मोहन वैद्यले पेस गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल गरी परिमार्जनसहित पारित हुने सो पार्टीले जनाएको छ ।
महाधिवेशनमा देशभरबाट साढे तीन सय प्रतिनिधि सहभागी छन् ।

