काठमाडौं । एक व्यक्तीले पैसा कमाउने नाममा कतिसम्म गर्न सक्छ भन्ने एक घटनाले देखाएको छ । भर्खरै नेपाल प्रहरीले पक्राउ गरेका एक व्यक्ती जो एक उदाहरण हुन् ।
नेपाल प्रहरीले पाँचथरका ३७ बर्षीय सुनील राईलाई पक्राउ गरेको छ । मिक्लाजुङ-७ का राई अनलाइन गेमहरूमा गैरकानुनी सट्टेबाजी तथा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा पक्राउ परेका हुन्। ललितपुरको महालक्ष्मीस्थान नगरपालिका-४ अफल टोल बस्दै आएका राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईका अनुसार राईले सट्टेबाजी तथा क्रिप्टोमा हालसम्म ५५ करोड २० लाख ८४ हजार ७१ रुपैयाँ कारोबार गरेका छन् । विभिन्न व्यक्तीका नागरिकता प्रयोग गरेर एनसेलका ७० थान, नेपाल टेलिकमका पाँच थान सिमकार्ड लिएको भेटिनुका साथै ७५ वटा बैंक खाता खोलेको, १२८ वटा इ-सेवा वालेट र बाइनान्स आइडी प्रयोग गरेर सट्टेबाजी क्रिप्टो कारोबार गरेको पाइएको छ।
राईलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-५ को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र सोही संहिताको दफा २६२ (क) १ अभौतिक मुद्राको प्रयोग गर्न नहुने बमोजिमको कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।

प्रहरीले उनको कोठाबाट विभिन्न सामग्री बरामद गर्यो ।
बरामद सामग्रीमा ल्यापटप दुई थान, मोबाइल सेट आठ थान, वाइफाई राउटर दुई थान, विभिन्न व्यक्तिको नाममा रहेका नागरिकता ११ थान, राहदानी १५ थान, चेकबुक २२ थान र एटिएम ४२ थान छन्।
प्रहरीले उनीसँग जोडिएका व्यक्तिहरूको पहिचानका लागि मोबाइल नम्बर ‘ट्रयाकिङ’ गरिरहेको छ।
अभियुक्त सुनील राईको साथबाट नेपाल प्रहरीले बरामद गरेका सामाग्री । तस्वीर: नेपाल प्रहरी
नेपालको कानुनले अनलाइन जुवा खेल्न प्रतिबन्ध लगाएको छ। भारतमा अनलाइन जुवा खेलाउन प्रतिबन्ध छैन। भारतमा क्रिप्टो करेन्सीलाई करको दायरामा ल्याएर वैध बनाइएको छ। नेपालमा भने क्रिप्टो करेन्सी गैरकानुनी छ।

