क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले मङ्गलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीले महाधिवेशनबाट सङ्गठनात्मक दृष्टिकोणले महासचिवीय प्रणालीमा जाने, पूर्ण केन्द्रीय समिति ११७ जनाको, ९५ जनाको वैकल्पिक केन्द्रीय सदस्य राख्ने, केन्द्रीय परिषद् बनाउने निर्णय गरेको जनाएको छ ।
पार्टीले नेपालको राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरू समाधान गर्न पार्टीको स्वतन्त्र पहल र कार्यगत एकता एवम् संयुक्त मोर्चामार्फत संघर्षका कामलाई अगाडि बढाउँदै जाने निष्कर्ष निकालेको छ । महाधिवेशनले संगठनात्मक दृष्टिकोणले महासचिवीय प्रणालीमा जाने, एकमा तीनको सिद्धान्त अनुसार केन्द्रीय समितिको संरचना निर्माण गर्ने, निर्णय लिइएको नेता सीपी गजुरेलले जानकारी दिए ।

जसअनुसार पूर्ण केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिका सदस्यहरूको प्रस्ताव प्रस्तुत भएपछि प्रतिनिधि तथा पर्यवेक्षकहरू सम्मिलित सदनबाट सो प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको थियो । त्यस पश्चात केन्द्रीय समितिको प्रथम बैठक किरणको अध्यक्षतामा बसी सर्वसम्मतिबाट उनलाई नै महासचिव चयन गरिएको गजुरेलले बताए ।
पार्टीले राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्यालाई लिई पार्टीको स्वतन्त्र पहल र कार्यगत एकता एवम् संयुक्त मोर्चा गरी सङ्घर्षका कामलाई अगाडि बढाउँदै लैजाने निर्णय गरेको छ ।


