क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थामा सामान्य सुधार आएको छ।दमका रोगी वैद्यको छातीमा सङ्क्रमण देखिए पछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा गत शनिवार भर्ना भएका हुन्।
पार्टीका कार्यवाहक महासचिव गौरवले शनिबार जारी गरेको विज्ञप्तिमा वैद्यको स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख छ । “…उहाँको स्वास्थ्य अवस्था स्थिर छ । पार्टीका महासचिव कमरेड किरणको हामी शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ,” विज्ञप्तिमा लेखिएको छ ।
उनको उपचारमा संलग्न वरिष्ठ छातीरोग विशेषज्ञ डा.निरज बमका अनुसार वैद्यको स्वास्थ्यमा सामान्य सुधार आएको छ।उनले लामो समयदेखि दमका रोगी रहेका वैद्यको हाल अक्सिजन सपोर्टमा उपचार भइरहेको बताए।उनले भने, ‘हाल उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ। अक्सिजन सपोर्टमा हुनुहुन्छ।’ 

