बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध थुनछेक बहस आजदेखि रुपन्देही जिल्ला अदालतमा सुरु हुने भएको छ।
सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा बुधवार अदालतमा उपस्थित भएका लामिछानेले बयान दिएपछि उनलाई आज बिहान १० बजे अदालत उपस्थित गराउने गरी कानुन व्यवसायी र परिवारको जिम्मा लगाइएको थियो।
थुनछेक बहस न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा हुनेछ। जिल्ला सरकारी वकिलको कार्यालयका तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सहायक न्यायधिवक्ताहरू गोकर्णराज घिमिरे र वसन्त पोख्रेलले बहस गर्नेछन्। साथै, जाहेरवालाको तर्फबाट दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले पनि बहस गर्ने तयारी गरेका छन्।
प्रतिवादी रवि लामिछानेका तर्फबाट नारायणदत्त कँडेल र सुशील पन्तको नेतृत्वमा कानुन व्यवसायीहरूको टोली बहसमा सहभागी हुनेछ। लामिछानेका पक्षमा काठमाडौँ र पोखराबाट आएका अनुभवी कानुन व्यवसायीहरू पनि बहसमा सहभागी हुने जानकारी राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश उपाध्यक्ष सालिक राज घिमिरेले दिए।
सुप्रिम सहकारी ठगी प्रकरणमा सुरुमा ४२ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। पछि पूर्व गृहमन्त्रीसमेत रहेका लामिछाने, पूर्व डिआइजी छविलाल जोशी, सहकारीका संरक्षक गितेन्द्रबाबु (जिवी) राईलगायत २२ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराध कसुरमा गत आइतबार पूरक मुद्दा दर्ता गरिएको हो।
मुद्दामा यी २२ जनाले सामूहिक रूपमा ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँ ठगी गरेको आरोप लगाइएको छ।

