काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई समावेशी सहर बनाइने वीरेन्द्रनगर नगरपालिकाकी मेयर मनमाया ढकालले बताएकी छन् । ‘सिटी फर वुमेन’को सहयोगमा सहरलाई महिला, बालबालिका र ज्येष्ठ नागरिकमैत्री भौतिक संरचना निर्माण गरी समावेशी सहर बनाउने ढकालले बताईन् ।
वीरेन्द्रनगरको एक कार्यक्रममा बिहिबार मेयर ढकालले सहरहरू सबैका लागि अवरोधमुक्त, अवसरयुक्त, हरित र विभेदरहित हुनुपर्ने र त्यसका लागि वीरेन्द्रनगरले चौतर्फी सुधारका प्रयास थालेको बताईन् । ‘हामीले अब बन्ने प्रत्येक भौतिक संरचनालाई सबैको पहुँचयुक्त बनाउनुपर्छ,’ मेयर ढकालले भनिन्, ‘हामी हाम्रा खुल्ला र सार्वजनिक क्षेत्रहरूलाई महिला मैत्री बनाइरहेका छौं ।’
मेयर ढकालले सहरहरू अवरोध र असमानताका केन्द्र बन्न नहुने बताइन् । ‘सहर अवसरका ढोका हुनुपर्छ । उमेर, जात, वर्ग, लिङ्ग र शारीरिक अवस्थाको विविधता आत्मसात् गर्दै सबै अटाउने समावेशी बन्नु पर्छ’, उनले भनिन्, ‘त्यसका लागि हामी जग हाल्ने काम गरिरहेका छौं । आवश्यक नीति निर्माण गर्नेदेखि त्यो सँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं ।’
महिला मैत्री सहर, नेपालमा समावेशीकरण र जलवायु उत्थानशील सहरीकरण परियोजनाले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा मेयर ढकालले नगरपालिकाले सार्वजनिक/सरकारी जमिनको खोजी कार्य समेत तीव्र पारेको बताइन् ।
सुर्खेत उपत्यका नगर विकास समिति अध्यक्ष समेत रहेकी मेयर ढकालले वीरेन्द्रनगरको सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने आफ्नो दायित्व भएको र तत्परतासाथ लागिएको बताइन् । वीरेन्द्रनगरको धेरै सार्वजनिक तथा सरकारी जग्गा हडपेर बनाइएका संरचनाहरू हटाएर अहिले ती क्षेत्रहरूमा खुल्ला पार्क निर्माण थालिएको समेत उनले उल्लेख गर्दै मेयर ढकालले भनिन्- ‘पार्कहहरु महिला, बालबालिका, अपाङ्गता भएका र ज्येष्ठ नागरिकमैत्री रूपमा निर्माण गर्न थालिएको छ ।’

