तोमनाथ उप्रेती
विषय प्रवेश
ध्यान शब्द संस्कृत भाषाबाट आएको हो । यसको अर्थ सावधान र चिन्तन भन्ने हुन्छ । यसमा स्व–सचेतनाको महत्त्वपूर्ण अभ्यास गरिन्छ र आन्तरिक शान्ति प्राप्त गरिन्छ । ध्यान एक किसिमको मानसिक अभ्यास हो । यसले सतर्क, सचेत बनाउनुका साथै व्यक्तिलाई मानसिक, संवेगात्मक र आध्यात्मिक रूपले तन्दुरुस्त बनाई परिपक्व बनाउँछ । धारणाको अर्थ चित्तलाई एउटै ठाउँमा केन्द्रित गर्नु हो । ध्यानस्वयं र वस्तु स्थिति प्रतिको जागरूकता हो । यो न त एकाग्रता हो, न धारणा नै । एकाग्रतामा मन एकाग्र हुन्छ भने धारणामा मन एकोहोरो हुन्छ । ध्यानमा मन हराउँछ । ध्यान स्वयंतिर फर्कने यात्रा हो । ध्यानमा सबै बाह्य वृत्तिहरू छुट्छन् तर जागरणको सघनता रहिरहन्छ । ध्यान त्यस्तो उपाय हो जसलाई हामी आफ्नो चित्त शान्ति, तनाव निवारण र राम्रा गुणहरूको विकासका लागि उपयोग गर्न सक्छौं। ध्यान भावशून्य अवस्थामा रहनु हो ।ध्यान भनेको भौतिक शरीर र मनका सीमाहरूबाट पर जानु हो। ध्यान हामी स्वयंको रूपान्तरण हो । ध्यानको उपयोगिता अद्भूत छ
पतञ्जलि भन्छन्, ‘प्रत्याहार सिद्ध गरेर नै ध्यानमा प्रवेश गर्न सकिन्छ । प्रत्याहार सिद्ध गर्नु भनेको चित्तका वृत्तिहरू पूर्ण रूपले निरोध भई इन्द्रियहरू सांसारिक रसबाट मुक्त भएको अवस्था हो । त्यसैगरी ओशो भन्छन्, ‘भित्रबाट जाग्नु नै ध्यान हो । सधैँ निर्विचारको अवस्थामा रहनु नै ध्यान हो । ध्यान, चेतन मन को एक प्रकृया हो, जसमा व्यक्तिले आफ्नो चेतना बाह्य जगतको कुनै एक बिशेष कुरा वा मन्त्रादी मा केन्द्रित गर्छ । कुनै एक विचार वा छवीमा मन लाई निरन्तर स्थीर गर्ने कार्यलाई ध्यान भनिन्छ । मनलाई जहाँ धारणा गराइएको हुन्छ, अथवा जुन प्रतिकमा मन अड्काइएको हुन्छ , अथवा मन जहाँ लगाइएको हुन्छ त्यसै वृत्तिमा एकतार भएर मन लगाईरहनु ,मन लाइ यताउता भड्किन नदिनु लाई ध्यान भनिन्छ । पातञ्जल योग प्रदीप मा लेखिएको छ :– तत्र प्रत्यैकतानता ध्यानम् । अर्थात् : जहाँ मन लगाइएको छ त्यसै वृत्तिमा एकनासले मन लगाइरहनु ध्यान हो । यो एकाग्रता मनमा दोश्रो विचार आएर बाधित नभए सम्म ध्यान मानिन्छ ।
गोरक्ष संहितामा गुरु गोरख नाथले ध्यानको यस्तो व्याख्या गर्नुभएकोछ । स्मृत्यसेव सर्व चिन्तया धातुरेकः प्रपद्यते । यच्चितै निर्मला चिन्ता तद्विध्यानं यचक्षते ॥ द्विविधं भवति ध्यानं सकलं निष्कलं तथा । चर्याभेदेन सकलं निष्कलं निर्गुणं भवेत् ॥ अर्थात् ध्यान सगुण/साकार र निर्गुण/निराकार दुई प्रकारको हुन्छ । सगुण ध्यान गर्नाले अणिमा आदि अष्ट सिद्घी प्राप्त हुन्छन् भने, निर्गुण ध्यानबाट समाधिको अवस्था प्राप्त हुन्छ । योग तत्वोपनिषद्ले पनि यो तथ्य लाइ थप स्पष्ट गरेको छ :– सगुणध्यानमेतत्स्यादणिमादिगुणप्रदम् । निर्गुणध्यानयुक्तस्य समाधिश्चततो भवेत् ॥
अष्टावक्र गीतामा ‘निर्विषय चेतनाको अवस्था नै ध्यान हो भनिएको छ । विषयहरूमा जबसम्म रस रहन्छ, तबसम्म ध्यान त्यस व्यक्तिसँग निरस रहन्छ । यस्ता व्यक्तिहरूलाई ध्यानको अनुभवमा ल्याउन सकिँदैन । ध्यान, चेतन मनको एक प्रक्रिया हो, जसमा व्यक्तिले आफ्नो चेतना बाह्य जगत्को कुनै एक विशेष कुरामा केन्द्रित गर्छ । कुनै एक विचार वा छविमा मनलाई निरन्तर स्थिर गर्ने कार्यलाई ध्यान भनिन्छ ।
हाम्रो मनस्थितिमा ध्यान आँखा चिम्लिएर बस्नु भन्ने बुझिन्छ । आँखा चिम्लिएर बस्दैमा ध्यान लाग्दैन । ध्यान भनेको निर्विचार अवस्थामा पुग्नु हो । आँखा चिम्लिँदैमा निर्विचारमा पुगिँदैन । झन् आँखा चिम्लिएर बस्दा विचारहरू धेरै आउँछन् । यसैले ध्यानमा बस्नुभन्दा अगाडि हामीले रेचक गर्नुपर्छ । रेचक भइसकेपछि मात्र ध्यान लाग्न सजिलो हुन्छ । रेचक मनभित्रको मैलो फाल्नु हो । रेचकले हाम्रो शरीरलाई हल्का बनाउँछ । हामीभित्रको रिस, राग, द्वेष, घृणा, अहङ्कार सबै पखाल्छ । रेचक भन्नु नै हाम्रो शरीरको मस्तिष्क, हाम्रो मन पखाल्नु हो, सफा गर्नु हो । मनमा एकत्रित भएका तनावहरू रेचक हुन सकोस्, जसले सहज स्थिरता ल्याओस् र ध्यानको विचाररहित भावको अनुभव होस् । कुनै पनि व्यक्ति ध्यानको उचाइमा जानु छ भने सुरु सुरुमा रेचकले धेरै मद्दत गर्दछ ।
ध्यान बस्नु भनेको कुनै पनि कुरामा एकाग्र हुनु भनेर सोच्छौं हामी । तर, ध्यानको अर्थ त्यस्तो होइन । ध्यानको अर्थ र महत्त्व निकै गहन छ ।कैयौं मानिसहरु ध्यानलाई नै सुर्दशन क्रिया भावातीत ध्यान क्रिया तथा सहज योग ध्यान सम्झने गल्ती गर्छन् । अन्य विधिलाई समेत उनीहरु ध्यान सम्झने गर्छन् ।कैयौ सन्त, गुरु तथा महात्मा ध्यानको प्रकारका क्रान्तिकारी विधिहरु बताउने त गर्छन् । यद्यपि, उनीहरुले विधि र ध्यानबीच फरक भने कहिल्यै बताउँदैनन् । जबकि क्रिया र ध्यानमा आकाश जमिनको फरक छ । किनकि क्रिया साधना होइन, साध्य हो । केवल एउटा औजार हो ।त्यसैले त, आँखा बन्द गरेर बस्दैमा ध्यान हुँदैन । कुनै मुर्तिलाई स्मरण गर्नु वा माला जप्नु पनि ध्यान हुँदैन ।ध्यान त तब गरिन्छ, जब क्रियाबाट मुक्त भइन्छ । विचारबाट मुक्त भइन्छ ।
ध्यानको इतिहास
ध्यानको अभ्यास हुन थालेको धेरै भएको छैन । यसको अभ्यास भएको करिब ३ हजार वर्ष भइसकेको अवस्था छ । प्राचीन कालमा ध्यानको प्रारम्भबारे वेदमा उल्लेख भएको पाइन्छ । वैदिक मन्त्र गायत्रीमा समेत ध्यानको कुरा पाइन्छ । यसैगरी ई.पू. छैठौँदेखि पाँचौँ शताब्दीमा ध्यानका अन्य विधिहरू चीनमा कन्फ्युसियस र ताओ तथा हिन्दू, जैन, बुद्ध जस्ता व्यक्तित्वहरूले विकास गरेको इतिहास छ ।तेस्रो शताब्दीमा प्लोटिनुसदले ध्यानका प्रक्रियाहरू विकास गरेको भेट्टाइन्छ । पहिलो शताब्दीमा बुद्धको ध्यान सबैभन्दा परिष्कृत पाइन्छ । चीन, भियतनाम र कोरियामा समेत बुद्धको प्रभाव परेको पाइन्छ । मध्ययुगमा पश्चिममा क्रिस्चियनको प्रभाव बढेको र बाइबलमा ध्यानको प्रयोग गरेको पाइन्छ । आधुनिक समयमा विश्वका देशहरूमा समेत ध्यानको प्रभाव बढेको पाइन्छ ।
सफल जीवनका लागि ध्यान किन आवश्यक छ ?
ध्यान मस्तिष्कको एक किसिमको तालिम हो, जसले मानसिक प्रक्रियालाई सही अवस्थामा राख्ने, शरीरलाई तन्दुरुस्त राख्ने र अनेकौँ फाइदा दिन्छ । यसले गहिरो मात्र नभई धेरै गहिरो ज्ञान प्रदान गरी दिनभरको तनाव घटाउने, आन्तरिक रूपमा सचेत गराउने र वास्तविक शान्ति प्रदान गर्छ । यदि चिन्ता, तनाव र थकान भयो भने ध्यानमा बस्नाले फाइदा पुग्छ । । शरीर, विचार, भाव वा अनुभूतिप्रति होसपूर्ण हुँदै आनन्दित जीवन जिउन ध्यानले सहयोग पुर्याउँदछ । अतः हरेक व्यक्ति ध्यानको उचाईमा छिटै पुग्नु छ भने रेचकबाट ध्यान सुरु गर्नु पर्दछ । उपरोक्त विधिअनुसार ध्यान लगातार एक महिना गरेर हेर्दा हामीलाई आकस्मिक रुपान्तरणको अनुभूत हुन थाल्दछ । आजको यो भागदौड जिन्दगीमा आनन्द र सुखी जीवनको लागि ध्यान अपरिहार्य रहेको छ ।
योग ग्रन्थहरूमा ध्यानको महिमा यसरी लेखिएको छ :– अश्वमेध सहस्त्राणी वाजपेय शतानि च । एकस्य ध्यान योगस्य तुलांनार्हन्ति षोडशीम् ॥ अर्थात हजारौ अश्वमेध यज्ञ वा सयकडौं वाजपेय यज्ञको फल ध्यान योगको सोलह भाग जति पनि हुँदैन । अर्थात् इष्टदेवको ध्यान गर्नाले पूजा, पाठ, यज्ञ, दान, तप, गरेको भन्दा १६ गुना बढी फल प्राप्त हुन्छ ।ध्यानमा इन्द्रिया मनको साथ, मन बुद्धिको साथ आफ्नो स्वरुप आत्मामा लिन हुन थाल्दछ । ध्यानले हामीलाई अनावश्यक कल्पना तथा विचारलाई मनबाट हटाएर शुद्ध तथा निर्मलतर्फ होहोर्याउँछ ।
जसले साक्षी वा श्रष्टा भाव बुझ्दैन, उनीहरुले सुरुमा अभ्यास गर्दा आँखा बन्द गर्नु पर्छ । र, अभ्यास हुँदै गएपछि आँखा बन्द होस् वा खुला, साधक आफ्नो स्वरुपको साथ नै जोडिएर रहन्छ । र, अन्तमा ऊ साक्षी भावमा स्थिर रहेर कुनै कामलाई पूरा गर्दै पनि ध्यानमा बस्न सक्छ । ध्यान जति जति गहिरो हुँदै जान्छ, व्यक्ति साक्षी भावमा स्थित हुन थाल्दछ । त्यसमा कुनै पनि भाव, कल्पना तथा विचारका क्षण मात्रले पनि प्रभाव पर्न दिँदैन । मन तथा मस्तिष्कका मौन हुनु नै ध्यानको प्राथमिक स्वरुप हो । विचार, कल्पना तथा अतीतको सुख–दुःखमा बाँच्नु ध्यानविरुद्ध हो ।सार्वजनिक पदाधिकारीहरूका व्यवहारले आम सर्वसाधारणहरूलाई प्रभाव पार्ने भएकोले यस्ता सिद्धान्तहरूको महत्त्व सार्वजनिक जीवनमा निकै धेरै हुने देखिन्छ ।
अन्त्यमा,ध्यान दिमागलाई ध्यान केन्द्रित गर्न र विचारहरूलाई पुनः निर्देशित गर्न गरिने अभ्यास हो । पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ। किनभने धेरै मानिसहरूले यसको धेरै स्वास्थ्य लाभहरू थाहा हुँदै गएको छ। धेरै मानिसहरू यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा सोच्छन्। ध्यानले शान्त, आनन्द र सन्तुलन प्रदान गरी संवेगात्मक विकास गराउँछ । तनाव र दबाब बढाउने सूचना, समाचार, त्यस्ता कुराहरू लगायत अन्य तनावका अवस्थाहरूमा फाइदा पुर्याउँछ । चिन्ता, दमरोग, क्यान्सर, दीर्घ दुखाई, डिप्रेसन, मुटुका रोगहरू, पेटका समस्याहरू, अनिद्रा र तनावका कारण टाउको दुख्ने जस्ता रोगसमेत ध्यानले निको पार्छ । तसर्थ सार्वजनिक जीवनमा ध्यानको अपरिहार्यता रहेको छ । यसले सार्वजनिक जीवनलाई फलदायी बनाउन मदत गर्दछ ।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)
Previous Articleवीरेन्द्रनगर समावेशी सहर बनाउने नगरप्रमुखको सपना !
Next Article राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव सम्पन्न

