सगिता सुबेदी
बैंकहरुको ब्याजदर घटेपनि कर्जा लगानी बृद्धि हुन नसक्नु जटिल आर्थिक चुनौतीको रुपमा देखा परेको छ । सामान्यतया ब्याजदर घट्दा कर्जाको लागत कम हुने भएकाले व्यवसाय र उपभोक्ताले ऋण लिने चासो बढ्नुपर्छ । तर, नेपालको हकमा भने यो सिद्धान्त व्यवहारमा लागु भएको छैन । यसका पछाडि रहेका संरचनात्मक, नीतिगत तथा मनोवैज्ञानिक कारणहरूको विश्लेषण आवश्यक छ । जस सम्बन्धमा यस लेख केन्द्रित छ ।
ब्याजदर घट्दा पनि कर्जा लगानी किन बढेन भन्ने विषयलाई विभिन्न दृष्टिकोणबाट विश्लेषण गर्न सकिन्छ ।
१. सुस्त आर्थिक गतिविधि
कोरोना महामारीपछि नेपाल लगायत विश्वभरि नै आर्थिक गतिविधिमा गिरावट आएको थियो । नेपालमा पर्यटन, निर्माण, र उत्पादन जस्ता प्रमुख क्षेत्रहरू अझै महामारीको प्रभावबाट पूर्ण रूपमा बाहिर आइसेका छैनन् । जस्तो कि पर्यटन क्षेत्रले प्रत्यक्ष रूपमा देशको अर्थतन्त्रमा योगदान गर्छ । सन् २०२० र २०२१ मा पर्यटन गतिविधि ठप्प जस्तै थियो । यसको प्रभाव अझै जारी छ । सरकारले चालु आर्थिक बर्ष ०८१–८२ मा १६ लाख पर्यटक भित्राउने लक्ष्य बजेट मार्फत लिएपनि त्यो पुरा हुने छाँटकाँट छैन । त्यसैगरी निर्माण क्षेत्रले अहिले पनि अपेक्षित रूपमा गति लिन सकेको छैन । सरकारले नै निर्माण व्यवसायीहरुको ४० अर्ब भन्दा बढी भुक्तानी गर्नुपर्ने रकम रोकेको अवस्था छ । जसले गर्दा रकम तलसम्म पुग्न सकेको छैन । फस्वरुप अर्थतन्त्र सुस्त छ । यी क्षेत्रहरूमा लगानीका अवसरहरू न्यून भएका कारण कर्जा लगानी बढ्न सकेको छैन । आर्थिक गतिविधि तीव्र नभएसम्म कर्जाको माग स्वाभाविक रूपमा बढ्न सक्दैन । त्यो संसारभरको अभ्यासले पनि प्रमाणित गर्छ । त्यसकारण सरकारले अर्थतन्त्रलाई चलाएमान बनाउन अवरोधहरु ह्टाउने र अर्थतन्त्र चलायमान बनाउने उपायको खोजी गर्नु पर्छ । त्यसको लागि उचित पहल भएको देखिदैन ।
२. तरलता समस्याको प्रभाव
नेपालको बैंकिङ प्रणालीमा अघिल्ला आर्थिक बर्षहरुसम्म गम्भीर तरलता अभाव देखिएको थियो । तर गत आर्थिक बर्षको अशोज कार्तिक पछाडी सहकारी क्षेत्रमा भएको ब्यापक अनियमितता बाहिर आयो । सहकारी क्षेत्र लगभग उठ्नै नसक्ने गरी धराशाही भयो । फलस्वरुप सहकारीमा जाने रकम बैंकहरुमा गए । फलस्वरुप बैंकहरुमा तरलता थुप्रिएको छ । सहकारी क्षेत्रमा आएको सकंटका कारण गत बर्ष देखि बैंकहरुको वित्तिय विवरणहरुमा पनि नकारात्मक असर पर्यो । अहिले धेरैजसो बैंकहरुले शेयर सदस्यहरुलाई लाभासं वितरण गर्न सकेका छैनन् । धेरैजसो बैंकहरु ५ प्रतिशत खराब कर्जाको सिलिङ्ग छुन लागेका छन् । बैंकहरुमा खराब कर्जा बढेसँगै र जथाभावी कर्जा प्रवाहमा राष्ट बैंकको कसिलो नीतिसँगै अहिले उनीहरुले कर्जा लगानी नै बढाउन सकेका छैन् । सहकारीमा जाने रकमहरु बैंकहरुमा गइरहेको छ । रेमिटयान्स रकम बैंकहरुमै थुप्रिरहेको छ । अहिले बैंकहरुमा साँढे ६ खर्ब तरलता थुप्रिएको अवस्था छ । तरलता निरन्तर बढीरहँदा र बैंकहरुको ब्याजदर ८ प्रतिशत हाराहारी आउँदा पनि कर्जा प्रवाह भने बढ्न सकेको छैन ।
अहिले तरलता समस्या पोहोर परारको जस्तो नभएर सुधार भएको भएपनि बैंकहरूले ऋण दिने प्रक्रियामा अझै सतर्कता अपनाइरहेका छन् । यसका साथै केही वर्षयता बैंकहरूले निक्षेप आकर्षित गर्न उच्च ब्याजदर घोषणा गरेका थिए । यसले बैंकिङ प्रणालीमा अस्थिरता थपिएको थियो । ब्याजदर निरन्तर घट्नु सकारात्मक भएपनि यसको तत्काल प्रभाव कर्जा लगानीमा देखिन कठिन भएको हो ।
३. सरकारी ढिलासुस्ती
सरकारका नीतिहरू र नियामकीय प्रक्रिया पनि कर्जा लगानी बढ्न नसक्नुको प्रमुख कारणमध्ये एक हो । नेपालमा व्यवसाय सञ्चालन गर्न र ऋणका लागि अनुमतिपत्र लिन धेरै समय लाग्ने समस्या छन् । अझ अनुभव नभएका, कागजपत्र पुर्याउन नसक्ने गरिव गुरुवाले यहाँ बैंकहरुबाट ऋण लिनै सक्दैनन् । बैंकहरुले माग गरे अनुसार कागजपत्र जुटाउनै सक्दैनन् । उदाहरणका लागि व्यवसायिक कर्जा लिन व्यवसायिक योजना प्रस्तुत गर्नु, परियोजनाको सम्भाव्यता अध्ययन गर्नु, र अन्य दस्तावेजहरू प्रस्तुत गर्नुपर्ने हुन्छ । यी प्रक्रियाहरू लामो समय लाग्ने र झन्झटिलो हुने भएकाले उद्यमीहरू ऋण लिन डराउँछन् ।
४. लगानी वातावरणको कमी
नेपालको कमजोर लगानीको वातावरण पनि कर्जा लगानी प्रवाह बढ्न नसक्नुको कारण हो । उद्यमीहरू र लगानीकर्ताहरू देशको अस्थिर राजनीतिक स्थिति, नीतिगत अनिश्चितता र लगानीका लागि सहज वातावरणको अभावले प्रभावित भएका देखिन्छन्। उनीहरु पर्ख र हेरको अवस्था छन् । एक एक बर्षमा सरकार बन्ने र भत्कने अवस्थाले पनि उनीहरु व्यवसायिक लगानीमा तर्किएका छन् ।
अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले पनि नेपालको अस्थिर नीति र कठिन व्यवसायिक प्रक्रियालाई प्राथमिकतामा नराख्ने गरेका छन् । यसले गर्दा देशभित्रका व्यवसायिक गतिविधि र कर्जा लगानी दुवै प्रभावित भएका छन् ।
५. ग्राहकको मनोविज्ञान
ब्याजदर घटे पनि ग्राहकहरूले नयाँ कर्जा लिन हिचकिचाउनुको पछाडि मनोवैज्ञानिक कारण पनि छन्। कोरोना महामारीका कारण धेरै व्यवसायहरूले घाटा व्यहोरेका थिए । पुराना ऋणका किस्ता तिर्न सक्ने अवस्था नभएकाहरूले नयाँ कर्जा लिनबाट पछि हटिरहेका छन ्। ग्राहकहरूले भविष्यप्रति अनिश्चितता महसुस गरिरहेका छन्। त्यसैले उनीहरू कर्जाको ब्याजदर घटेको भएपनि नयाँ ऋण लिन तयार छैनन् ।
६. उच्च जोखिम मूल्यांकन
नेपालमा धेरै व्यवसायहरूलाई बैंकहरूले उच्च जोखिमयुक्त ठान्छन ्। कृषि, पर्यटन, निर्माण, र उत्पादन जस्ता क्षेत्रहरूमा कर्जा दिन बैंकहरू हिचकिचाउँछन ्। बैंकहरू प्रायः जग्गा वा स्थिर सम्पत्तिलाई धितो राखेर मात्र कर्जा दिन तयार हुन्छन्। परियोजनामा आधारित ऋण दिने चलन नेपालमा चल्नै सकेको छैन । फलस्वरुप व्यवसायीहरू कर्जा पाउन असफल छन्।
७. आयात तथा निर्यातमा कमी
नेपालको ठूलो हिस्सा व्यापार क्षेत्रमा निर्भर छ । सरकारको आयात नीतिमा विगतमा कडाइ भएपछि व्यापारिक गतिविधिमा गिरावट आएको हो । अहिले पनि राष्ट बैंकको आशिंक कडाइ जारी छ । आयातको सहजता नभए व्यापारिक क्षेत्रले नयाँ लगानीका लागि कर्जा लिने सम्भावना कम हुन्छ । यसले गर्दा पनि कर्जाको माग घटेको हो । व्यापारिक क्षेत्रमा स्थायित्व ल्याउन आयात र निर्यात दुवैमा सुधार आवश्यक छ। समाधानका उपायहरू
बैंकहरुको कर्जा लगानी बढाउन विभिन्न उपायहरू अवलम्बन गर्न सकिन्छ ।
१. नीतिगत सुधार
सरकारले बैकहरुको कर्जा लगानीका लागि अनुकूल वातावरण सिर्जना गर्न नीतिगत सुधार गर्नुपर्छ । प्रक्रियागत झन्झट घटाई ऋणको सहज र समान पहुँच विस्तार गर्नु आवश्यक छ ।
२. लघु तथा मध्यम उद्यमलाई प्राथमिकता
नेपालको लघु र मध्यम उद्यम क्षेत्रले ठूलो संख्यामा रोजगारी सिर्जना गर्छ । बैंकहरूले यस क्षेत्रमा कर्जा लगानीको प्राथमिकता बढाउनुपर्छ ।
३. ऋणको सहज पहुँच
साना व्यवसाय र स्टार्टअपलाई न्यून ब्याजदरमा सहज ऋण उपलब्ध गराउनु आवश्यक देखिन्छ । यसले नयाँ व्यवसायहरूलाई सशक्त बनाउन मद्दत पुर्याउँछ ।
४. आर्थिक स्थिरता र विश्वासनियता
आर्थिक गतिविधिलाई गतिशील बनाउन दीर्घकालीन योजना तयार गरी लगानीकर्ताको विश्वास पुनःस्थापित गर्न आवश्यक छ ।
५. कर्जाको जोखिम व्यवस्थापन सुधार
बैंकहरूले परियोजनामा आधारित ऋण दिने चलन बढाउनुपर्छ । यसका लागि ठोस परियोजनाको मूल्यांकन गरी जोखिम न्यूनीकरण गर्न सकिन्छ ।
६. व्यवसायिक परामर्श सेवा
बैंकहरूले व्यवसायिक परामर्श सेवा उपलब्ध गराई कर्जा लिन चाहने व्यवसायीहरूलाई सघाउनु आवश्यक छ । यसले कर्जा लिन डराएका उद्यमीहरूलाई प्रोत्साहित गर्नेछ ।
निष्कर्ष
नेपालमा ब्याजदर घट्दा पनि कर्जा लगानीको अपेक्षित बृद्धि हुन नसक्नु बहुपक्षीय कारणहरूसँग सम्बन्धित छ । सुस्त आर्थिक गतिविधि, तरलता अभाव, सरकारी नीति, र लगानी वातावरणजस्ता पक्षले यसमा प्रभाव पारेका छन ्। यस समस्याको समाधानका लागि बैंक, निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक देखिन्छ ।
कर्जा लगानीलाई प्रोत्साहित गर्न दीर्घकालीन योजना र संरचनात्मक सुधार अपरिहार्य छ । यी सुधारहरूलाई कार्यान्वयन गर्न सकियो भने नेपालमा कर्जा लगानीको अवस्था सुधार हुन सक्नेछ।
सुबेदी बिजनेसपाटी डटकममा डेपुटी एडिटरको रुपमा कार्यरत छिन् ।

