काठमाडौँ ।राजधानीको तीनकुने क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् । घाइतेलाई अहिले तीनकुनेस्थित कान्तिपुर अस्पतालमा लगिएको छ । घाइतेको कम्मरमा गोली लागेको जनाइएको छ ।
तीनकुनेमा राजवादी समूहले गरेको प्रदर्शनको क्रममा भएको झडपका क्रममा ७ जना सशस्त्र प्रहरी घाइते भएका छन् । झपडका क्रममा घाइते भएकामध्ये ४ जनाको कान्तिपुर अस्पतालमा उपचार भइरहेको सुरक्षा स्रोतले जनाएको छ । यस्तै प्रदर्शनकारीतर्फ पनि दर्जनौँ घाइते भएका छन् ।
प्रहरीले काठमाडौंको तीनकुनेमा आयोजित राजावादीको प्रदर्शनलाई तितरबितर पारेको छ । प्रदर्शनले उग्ररूप लिएपछि प्रहरीले अश्रुग्यास, हवाई फायर प्रहार गरेर प्रदर्शनकारीहरूलाई तितरबितर पारेको हो ।
अहिले राजावादीको प्रदर्शनसभा तीनकुने मैदानमा पनि मान्छेहरू छैनन् । प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले स्टेजमै अश्रुग्यास प्रहार गरेको थियो ।
त्यसअघि, राजावादीहरूले निजी घरमा समेत ढुंगामुढा प्रहार गरेका थिए । उनीहरूले एक घरमा आगजनीसमेत गरेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले जानकारी दिए ।

