भैरहवा, साउन ५ ।
आन्तरिक राजस्व कार्यालय भैरहवाले आर्थिक वर्ष २०८१/८२ मा कुल रु १२ अर्ब ९८ करोड राजस्व सङ्कलन गरेको छ। आन्तरिक राजस्व विभागले सो कार्यालयलाई सो अवधिमा रु १३ अर्ब २७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो। यसअनुसार कार्यालयले वार्षिक लक्ष्यको ९७ दशमलव ८ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको हो।
कार्यालय प्रमुख कर अधिकृत प्रेमराज पोखरेलका अनुसार अघिल्ला वर्षहरूमा लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन नसकेको भए पनि यो वर्ष तुलनात्मक रुपमा उल्लेख्य प्रगति देखिएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालु वर्षमा रु २ अर्ब ३५ करोडले बढी राजस्व सङ्कलन भएको छ, जुन २५ दशमलव ७ प्रतिशतले वृद्धि भएको संकेत हो।
आयकर, मूल्य अभिवृद्धि कर (भीएटी) र अन्तः शुल्क गरी तीन मुख्य शिर्षकहरूमा राजस्व सङ्कलन भएको छ। आयकरतर्फ रु १ अर्ब ७० करोड ११ लाख, मूल्य अभिवृद्धि करतर्फ रु २ अर्ब ८६ करोड ८ लाख र अन्तः शुल्कतर्फ रु ९ अर्ब १ करोड ५६ लाख राजस्व सङ्कलन भएको हो। यसमध्ये सबैभन्दा धेरै वृद्धि अन्तः शुल्कतर्फ देखिएको छ, जहाँ अघिल्लो वर्षको तुलनामा रु १ अर्ब ९५ करोडभन्दा बढी राजस्व उठेको छ।
प्रमुख पोखरेलका अनुसार नियमित अनुगमन, करको दायरामा नआएकालाई समेट्ने प्रयास, बक्यौता असुली र कर छल्नेविरुद्ध अनुसन्धान तथा कारबाही जस्ता पहलले राजस्व वृद्धि भएको हो। साथै, नक्कली बीजक मार्फत कर छल्नेहरूलाई कारबाहीको दायरामा ल्याइनु, कर शिक्षा प्रवाह र नागरिकमा बढ्दो कर सचेतना पनि मुख्य कारण हुन्।
डिजिटल प्रणाली लागू भएपछि साना करदातालाई सेवा प्रवाहमा सहजता भएको र कार्यालय धाउनुपर्ने झन्झट अन्त्य भएको कार्यालयको निष्कर्ष छ।
भैरहवा आन्तरिक राजस्व कार्यालयको कार्यक्षेत्रमा सिद्धार्थनगर, तिलोत्तमा, देवदह, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा, कञ्चन, कोटहीमाई, मर्चवारी, मायादेवी, ओमसतिया, रोहिणी, सम्मरीमाई र सियारी गाउँपालिका समावेश छन्।

