काठमाण्डौ— नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हालै काठमाडौंको सोल्टी होटलमा तीनदिने ‘लिडरसिप एक्सिलेन्स अवार्ड’ कार्यक्रम सम्पन्न गरेको छ। साउन १६ देखि १८ गतेसम्म चलेको यस कार्यक्रमको नारा ‘लायन वर्ष: लिड, रोअर, रिपिट’ रहेको थियो।
कार्यक्रममा देशभरबाट उत्कृष्ट व्यापार गर्ने ४४० एजेन्सी म्यानेजर र एजेन्टहरुका साथै कम्पनीका कर्मचारीहरुको सहभागिता रहेको थियो। कम्पनीका सञ्चालकहरू कमलेश कुमार अग्रवाल, विमल ढकाल, र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्तरूपमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए।
उत्कृष्ट प्रदर्शन गर्नेलाई सम्मान
सञ्चालक समितिका सदस्य कमलेश कुमार अग्रवालले कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा प्रथम बीमा शुल्कबापत १० अर्बको ऐतिहासिक कोसेढुङ्गा पार गरेकोमा सबै अभिकर्ता र कर्मचारीलाई बधाई दिए।
प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्मानित अभिकर्ताहरूलाई शुभकामना दिँदै आगामी आर्थिक वर्षको व्यापार लक्ष्य पूरा गर्न सुरुदेखि नै मेहनत गर्न आग्रह गरे। उनले कम्पनीको आगामी सेल्स रणनीतिबारे पनि जानकारी दिए।
यस्तै, कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले गत वर्षको व्यावसायिक लक्ष्य प्राप्त गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए।
विभिन्न पदक र पुरस्कार वितरण
कार्यक्रममा १११ एजेन्सी म्यानेजर र ३२९ व्यक्तिगत अभिकर्तालाई सम्मान गरिएको थियो। उनीहरूमध्ये ९६ जनालाई सम्राट पदक, ८७ जनालाई रत्न पदक र २५७ जनालाई समृद्धि पदक प्रदान गरिएको थियो।
उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । एजेन्सी म्यानेजरतर्फ मदन भट्ट (प्रथम), स्नेहा भट्ट (द्वितीय), र बसन्ती शर्मा (तृतीय) भएका छन् । व्यक्तिगत कोडतर्फ सुमित्रा भट्ट (प्रथम), अर्बिन राजवंशी (द्वितीय), र आयुष कुँवर (तृतीय) भएका हुन् ।
कार्यक्रमको अन्तिममा कमेडियन सन्दीप क्षेत्रीले आफ्नो प्रस्तुति दिएका थिए।

