काठमाडौं – भाद्र शुक्ल पूर्णिमाको दिन, आइतबार राति (सेप्टेम्बर ७–८) आकाशमा विशेष खगोलीय घटना देखिन लागेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार राति १०:११ बजेबाट सुरु हुने चन्द्रग्रहण १:४१ बजे मोक्षसँगै अन्त्य हुनेछ।
यो खग्रास चन्द्रग्रहणको कुल अवधि १ घण्टा २३ मिनेट रहनेछ भने सम्पूर्ण ग्रहण ३ घण्टा ३० मिनेटसम्म देखिनेछ। नेपाल, भारतलगायत एसियाका धेरै देशका नागरिकहरूले यसलाई प्रत्यक्ष अवलोकन गर्न सक्नेछन्।
राशिअनुसार प्रभाव
ज्योतिषशास्त्रले ग्रहणलाई केवल खगोल विज्ञानकै दृष्टिमा नभई जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने घटना मान्छ। यसअनुसार आजको चन्द्रग्रहणले राशिमा यसरी असर गर्नेछः
मेष : लाभको संकेत
वृष : सुखद अनुभव
मिथुन : मानहानिको सम्भावना
कर्कट : कष्टकर अवस्था
सिंह : स्त्रीपीडा
कन्या : सौख्य लाभ
तुला : चिन्ता बढ्ने
वृश्चिक : व्यथा
धनु : श्रीसम्पत्ति प्राप्ति
मकर : क्षति
कुम्भ : घात
मीन : व्यय
कसले ग्रहण हेर्ने ?
ज्योतिष अनुसार सबैले ग्रहण हेर्न उपयुक्त हुँदैन।
हेर्न हुने राशि : मेष, वृष, कन्या र धनु।
हेर्न नहुने राशि : मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर, कुम्भ र मीन।
विशेषगरी शतभिषा र पूर्वाभाद्रपदा नक्षत्रमा जन्मेका र कुम्भ राशि भएका व्यक्तिहरूलाई बढी सावधानी अपनाउन सुझाइएको छ।
सावधानी
ग्रहणको बेला प्रचलित धार्मिक परम्पराअनुसार स्नान, ध्यान, मन्त्रजप, दानपुण्य गर्नु उपयुक्त मानिन्छ। साथै, वैज्ञानिक दृष्टिले पनि ग्रहण अवलोकन गर्न इच्छुकहरूले आँखाको सुरक्षा गर्दै सुरक्षित तरिकाले मात्र हेर्नुपर्ने सुझाव खगोलविदहरूले दिएका छन्। आजको राति आकाशमा देखिन लागेको चन्द्रग्रहणले वैज्ञानिक जिज्ञासुहरूलाई अध्ययनको अवसर दिनेछ भने आस्थावान्हरूलाई श्रद्धा–भक्तिपूर्वक धार्मिक अनुष्ठानमा संलग्न हुन प्रेरित गर्नेछ।

