भक्तपुर, भदौ २४ ।
अखिल नेपाल कम्युनिस्ट पार्टीले नेपालमा पछिल्लोपटक उठेको जेनेरेशन–जेड (GN-Z) आन्दोलनलाई ऐतिहासिक जनविद्रोहको निरन्तरता भन्दै समर्थन जनाएको छ।
महासचिव लक्ष्मण उप्रेतीद्वारा जारी वक्तव्यमा भनिएको छ कि लामो समयदेखि दलाल पूँजीवादी गठबन्धन सरकारमा रहेका शासकहरूले गरेको भ्रष्टाचार, कुशासन र राष्ट्रघातविरुद्ध यो पुस्ताले निर्भीक संघर्ष आरम्भ गरेको हो। वक्तव्यमा आन्दोलनमाथि गरिएको हत्या, दमन र गिरफ्तारीले राज्यसत्ताको “खुनी चरित्र” उजागर भएको उल्लेख छ।
पार्टीले तत्कालै सर्वाधिकार सम्पन्न राष्ट्रिय राजनीतिक सम्मेलन बोलाई “सहमतिको आत्मनिर्भर प्रगतिशील राष्ट्रिय सरकार” निर्माण गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ। सो सरकारमार्फत भ्रष्टाचार नियन्त्रण, शिक्षा–स्वास्थ्य–रोजगारीको सुनिश्चितता, २०४६ यताका नेताहरूको सम्पत्ति छानबिन, अनुचित सम्पत्ति राष्ट्रियकरण, संविधान पुनर्लेखनमार्फत समाजवादी बाटो खोल्ने लगायतका कार्यक्रम युद्धस्तरमा अघि बढाउनुपर्ने पार्टीको माग छ।
वक्तव्यमा GN-Z आन्दोलनका सहिदहरूलाई राष्ट्रिय सम्मानसहित सहिद घोषणा गर्ने, परिवारलाई क्षतिपूर्ति दिने र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्नेमा पनि जोड दिइएको छ। साथै, मिटरव्याज, सहकारी ठगी, कालाबजारी र वित्तीय शोषणविरुद्ध तत्काल प्रभावकारी कदम चाल्नुपर्ने भनिएको छ।
पार्टीले दरबार हत्याकाण्ड र मदन–आश्रित हत्या प्रकरणको सत्यतथ्य उजागर गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग पनि राखेको छ।
महासचिव उप्रेतीको वक्तव्यमा भनिएको छ — यो आन्दोलन केवल क्षणिक असन्तोष नभई दलाल तथा नोकरशाही पूँजीवादी सत्ता असफल भएको ठोस संकेत हो। तर, यसलाई विदेशी शक्तिकेन्द्रहरूले दुरुपयोग गर्ने षड्यन्त्र हुन सक्ने भएकाले सबै नेपाली जनता र राजनीतिक शक्तिहरू सचेत, संगठित र जिम्मेवार रहनुपर्ने आवश्यकता औंल्याइएको छ।

