अन्तिम ओभरमा चार विकेट लिँदै कप्तान अथापथ्थुको अविश्वसनीय प्रदर्शन
काठमाडौँ । जारी महिला क्रिकेट विश्वकपमा श्रीलंकाले बंगलादेशलाई ७ रनले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ। अन्तिम ओभरसम्म लम्बिएको खेलमा श्रीलंकाकी कप्तान चामारी अथापथ्थुले निर्णायक भूमिका खेलेकी थिइन्।
बंगलादेशले २०३ रनको लक्ष्य पछ्याउँदै गर्दा ५० ओभरमा ९ विकेट गुमाउँदै १९५ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा जितका लागि ९ रन आवश्यक थियो तर अथापथ्थुले एकै ओभरमा ४ विकेट (एक रनआउटसहित) लिएपछि श्रीलंकाले खेल आफ्नो पक्षमा पारेको हो।
यसअघि श्रीलंकाले ब्याटिङ गर्दै ४५.४ ओभरमा २०२ रनमा अलआउट भएको थियो।
अंकतालिकामा श्रीलंकाको उकालो यात्रा
यो जितसँगै श्रीलंकाले ६ खेलबाट ४ अंक जोड्दै अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ। हारसँगै बंगलादेश भने सेमिफाइनलको दौडबाट बाहिरिएको छ। बंगलादेशले ६ खेलमा जम्मा २ अंक मात्रै हासिल गरेको छ ।
महिला विश्वकप अन्तर्गत आज पाकिस्तान र दक्षिण अफ्रिकाबीच भिडन्त हुने छ।

