सुर्खेत ।
कर्णाली प्रदेशमा भोलि मङ्सिर २७ गते नेपाली कम्युनिस्ट पार्टीले आयोजना गर्न लागेको ‘एकता सन्देश सभा’ भव्य रूपमा सम्पन्न गर्न तयारी तीव्र भएको छ। पार्टीका अनुसार एकता, रूपान्तरण र जनस्वार्थको एजेन्डालाई केन्द्रमा राखेर हुन लागेको उक्त सभामा कर्णालीभरिका कार्यकर्ता, शुभेच्छुक र जनसमुदायको उत्साहपूर्ण सहभागिता अपेक्षित छ।
सभालाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधव कुमार नेपाल, वरिष्ठ नेता भिम रावल लगायतका शीर्षस्थ नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। नेतृत्वको एकीकृत सन्देश, समसामयिक राजनीतिक परिस्थिति र पार्टीले अघि सारेका आगामी रणनीतिबारे सभामा महत्वपूर्ण घोषणा हुन सक्ने बताइएको छ।
पार्टी कर्णाली प्रदेश समितिका अनुसार सुर्खेतमा हुने यो सभा प्रदेशभरका कार्यकर्ताहरूमाझ संगठनात्मक ऊर्जा थप्दै पार्टी एकतालाई थप दृढ बनाउने निर्णायक अवसर हुने छ। “सबैलाई हार्दिक निमन्त्रणा छ, सुर्खेतमा भेटौँला, एकताको जीत सुनिश्चित बनाऔँ,” आयोजक समितिले भनेको छ।
जनता, कार्यकर्ता र समर्थकहरूको उल्लेखनीय भीडसमेत अपेक्षा गरिएको यो कार्यक्रम कर्णाली प्रदेशको हालसम्मकै सबैभन्दा संगठित राजनीतिक सभामध्ये एक बन्ने अनुमान गरिएको छ।

