काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन बिथोल्ने कुनै पनि प्रयास नगर्न चेतावनी दिएका छन्। काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले फागुन २१ गते तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने स्पष्ट पारे।
‘फागुन २१ को निर्वाचन फागुन २१ मै हुनुपर्छ। निर्वाचन नै अब देशको सबैभन्दा सहज र व्यावहारिक बाटो हो,’ प्रचण्डले भने, ‘निर्वाचन बिथोल्ने काम कसैले नगरोस्।’
उनले पूर्वदेखि पश्चिमसम्म सम्पन्न एकता सन्देश सभाका क्रममा जनता निर्वाचनका लागि मानसिक र संगठनात्मक रूपमा तयार हुँदै गएको आफूले पाएको बताए। राजनीतिक दलहरू पनि निर्वाचनको तयारीमा जुटिरहेको उल्लेख गर्दै उनले निर्वाचनमार्फत नै राजनीतिक स्थायित्व र जनताको आकांक्षा पूरा हुने धारणा राखे।
प्रचण्डले लोकतान्त्रिक अभ्यासलाई कमजोर पार्ने गतिविधि स्वीकार्य नहुने बताउँदै सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे।

