काठमाडौं —युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले रूससँग जारी युद्ध अन्त्य गरी दीर्घकालीन शान्ति स्थापना गर्ने उद्देश्यसहित अमेरिकाको नेतृत्वमा तयार गरिएको २० बुँदे नयाँ योजना सार्वजनिक गरेका छन् । जेलेंस्कीका अनुसार उक्त योजनामा किएभ र वाशिङ्टनबीच सहमति भइसकेको छ भने मस्कोको प्रतिक्रियाका लागि प्रस्ताव पठाइसकिएको छ ।
प्रस्तावित योजनामा युक्रेनको सार्वभौमिकता पुनः पुष्टि गर्ने, युक्रेन–रूसबीच पूर्ण गैर–आक्रमण सम्झौता गर्ने तथा युक्रेनलाई अन्तर्राष्ट्रिय सुरक्षा प्रत्याभूति प्रदान गर्ने व्यवस्था समेटिएको छ । योजनाअनुसार युक्रेनी सेनाको क्षमता यथावत् रहनेछ भने नाटो, अमेरिका र युरोपेली साझेदारहरूले आवश्यक सुरक्षा सहयोग प्रदान गर्नेछन् ।
योजनामा युक्रेनलाई युरोपेली सङ्घको सदस्यता दिलाउने मार्गचित्र, युद्धपछिको अर्थतन्त्र र पूर्वाधार पुनर्निर्माणका लागि विकास प्याकेज लागू गर्ने, डनिप्रो नदी र कालो सागरमार्फत व्यापारिक पहुँच सुनिश्चित गर्ने प्रावधान पनि समावेश गरिएको छ ।
त्यसैगरी जापोरिज्जिया परमाणु ऊर्जा स्टेशनलाई युक्रेन, अमेरिका र रूसको संयुक्त व्यवस्थापनमा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । मानवीय संकट समाधानका लागि छुट्टै मानवीय समिति गठन गर्ने, युद्धबन्दी तथा अन्य कैदीहरूको आदान–प्रदान सुनिश्चित गर्ने र युक्रेनमा छिट्टै निर्वाचन सम्पन्न गर्ने व्यवस्था पनि योजनामा उल्लेख छ ।
सम्झौताको कानुनी कार्यान्वयन शान्ति परिषद्को निगरानीमा हुने र सबै पक्ष सहमत भएपछि तत्काल पूर्ण युद्धविराम लागू गरिने प्रस्ताव गरिएको छ । राष्ट्रपति जेलेंस्कीले यो योजनाले युक्रेन–रूस द्वन्द्वको अन्त्यतर्फ निर्णायक मोड ल्याउने विश्वास व्यक्त गरेका छन् ।
Previous Articleसमग्र सहकारी अभियानको साझा उम्मेदवार सागरनाथ
Next Article भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

