भारतस्थित वेस्टबङ्गालको मेकिलिगञ्जमा गत कार्तिक २५ गते आयोजित साहित्य उत्सवमा नेपाल बाट गएका साहित्यकार पण्डित रामकुमारले रिवन काटेर कार्यक्रमको उद्घाटन गर्नुभयो ।
अपराजिता अर्पण पत्रिकाले त्यहाँकी चर्चित लेखिका लक्ष्मी नन्दीको स्मृतिमा हरेक वर्ष साहित्य उत्सव गर्दै आइरहेको छ । उक्त कार्यक्रममा पण्डित रामकुमार सहित सिक्किमबाट गएका साहित्यकारहरू पवन बाहुन, बिष्णु केसी, पङ्कज आचार्य लगायत वेस्टबङ्गाल एवं भारतकै अन्य राज्यबाट सहभागी भएका साहित्यकारहरू जया घोष, स्वामित घोष, प्रथासारथी झा, जयश्वरी झा, शिला दत्त, शताव्दी शाह, राम अवतार शर्मा, बब्ली मित्र, रवि शिल लगायतलाई साहित्य सम्मान गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता इतिहासविद् एवं प्राध्यापक आनन्द घोषले गर्नु भएको थियो भने प्रमुख अतिथिमा वेष्टबङ्गालका पूर्व मन्त्री एवं हालका सभासद परेश अधिकारीको थियो । त्यस्तैगरी मेकिलिगञ्ज नगरपालिकाका नगरप्रमुख केशव चन्द्र दासको विशेष अतिथिको रूपमा सहभागिता रहेको थियो ।
पूर्व मन्त्री नै सहभागी भएको कार्यक्रममा तपाईँले किन रिबन काटेर उद्घाटन गर्नुभयो भन्ने प्रश्नमा पण्डित रामकुमारले जवाफ दिदैँ भन्नुभयो “वेष्टबङ्गालमा विदेशबाट आउने अतिथिलाई विशेष सम्मान दिइने संस्कार रहेछ । अघिल्ला वर्षहरूमा पनि बङ्गलादेशबाट आउने साहित्यकारलाई यस्तो अवसर मिलेको थियो भनेर मलाई आयोजकले जानकारी गराए ।” स्वदेशमै पनि अत्याधिक कार्यक्रमहरू हुँदै आएको सन्र्दभमा नेपालदेखि भारतसम्म साहित्यिक कार्यक्रममा सहभागीहुनुको औचित्यको सन्र्दभलाई उहाँले स्पष्ट पार्दै भन्नुभयो “नयाँपनको अनुभूति गर्न, आतिथ्यताको निमन्त्रणालाई स्वीकारगर्दै संस्कार र संस्कृतिलाई नजिकबाट बुझ्न, साहित्यमार्फत सानो स्तरमा भएपनि पर्यटनको विकास हुनुकोसाथै अहिले नेपाल तथा भारतीय सरकारले नै छिमेकी देशमा नागरिकस्तरमै सम्बन्ध बिस्तार गर्न जोड दिएको पाइन्छ ।”
उक्त कार्यक्रममा पूर्व मन्त्री परेश अधिकारीले पण्डित रामकुमारले वाचन गरेका कविता “पशुपतिनाथ”को प्रसंशा गर्नुकासाथै लक्ष्मी नन्दीको साहित्यिक योगदानको चर्चा गर्नुभयो । त्यस्तैगरी आनन्द घोषले नेपालको प्रज्ञाप्रतिष्ठानले नोबेल पुरस्कार विजेता रविन्द्रनाथ टैगोरको सबै पुस्तकको नेपाली अनुवाद गराएको बताउँदै दिवंगत लक्ष्मी नन्दीको स्मृतिमा उनका पति एवं उक्त कार्यक्रमका संयोजक कुनाल नन्दीले गरेको योगदानको सराहना गर्नुभयो । कार्यक्रमको सञ्चालन प्रधानाध्यापक एवं कवि सुशान्त नन्दीलेगर्नु भएको थियो ।

