नारायण शर्मा
आज १३६औं मई दिवस ! अन्तर्राष्ट्रिय मजदुर दिवस अर्थात् श्रमिकहरुले दासको स्तरबाट नागरिकको हैसियत प्राप्त गर्न सफल भएको ऐतिहासिक दिन ! सर्वप्रथम यस दिवसको ईतिहास निर्माणमा प्राप्त सफलताको लागि जीवनको आहुती दिने सम्पूर्ण महान् शहीद र आन्दोलनमा विविध रुपले योगदान पुराउनेहरु सबैलाई हार्दिक श्रद्धाञ्जली र सलामी ! साथै संसारका सम्पूर्ण सर्वहारा श्रमिक मजदुरहरुको मुक्ति, प्रगति र समृद्धिको लागि हार्दिक शुभकामना !!
अहिले हामीले १३६औं मई दिवस मनाउँदैछौं । यसो गर्दैगर्दा यो महान् ऐतिहासिक दिन र विश्वमजदुर आन्दोलनको गौरवमय ईतिहास र विडम्बनापुर्ण वर्तमानका सन्दर्भमा मई दिवसबारेका केही तीतामीठा स्मरणीय आधारभूत कुराहरु बुँदागत रुपमा मात्र गर्नु पनि वान्छनीय भएको छ ।
१. मई दिवस मजदुर मुक्ति दिवस हो !
२. मई दिवस सर्वहारा-श्रमजीवी मजदुरहरुको अन्तर्राष्ट्रिय दिवस हो !
३. मजदुर आन्दोलन भनेको सर्वहारा श्रमजीवीहरुको नै आन्दोलन हो ! सारमा यो वर्गसंघर्ष हो ।
४. यो आन्दोलन मालेमावादद्वारा निर्देशित र परिचालित हो ।
५. यो आन्दोलन बाह्यरुपमा पुँजीवादका विरुद्ध र आन्तरिकरुपमा ट्रेडयुनियनवाद र अर्थवादजस्ता विचलनवादका विरुद्धको संघर्षबाट बचेको र बनेको आन्दोलन हो ! अहिले यसमा वर्गीय, वैचारिक र व्यावहारिक विचलनको रुपमा व्यक्तिवाद, वार्गेनिङवाद, उपभोक्तावाद र दलालीकरण समेत हावी हुने खतरा बढेको छ !
६. श्रम, खासगरी शारीरिक श्रम गर्ने श्रमिक व्यक्ति, वर्ग, व्यवहार र विचारलाई माया, श्रद्धा र विश्वास गरी संघर्ष गर्नेहरु मात्र सच्चा सर्वहारा श्रमजीवी मजदुर हुन् र तिनीहरू नै यो मई दिवस र मजदुर आन्दोलनका वास्तविक विश्वासप्राप्त पक्षधर हुन् ।
७. सर्वहारा श्रमजीवी मजदुर वर्ग सबैभन्दा कान्छो र शक्तिशाली क्रान्तिकारी वर्ग हो ।
८. यो वर्गले अवलम्बन गर्ने मालेमावादी विचार र यो विचारको आधारमा गरिने व्यवहार र वर्गसंघर्षबाट नै मानवजातिले वास्तविक, पूर्ण र स्थायीरुपमा मुक्ति, समानता, स्वतन्त्रता र समृद्धि प्राप्त गर्दछ !
९. मोनेरा-अमिवादेखि बाँदर हुँदै मानवसम्मको विकास र संसारका सबै भौतिक विकास-निर्माणमा श्रमको भूमिका प्राथमिक, मुख्य र निर्णायक रहिआएको छ !

१०. आज श्रम, श्रमिक, सर्वहारावर्ग, श्रमजीवी मजदुर र यी सबैको अर्थ, औचित्य, आवश्यकता, क्षमता, भूमिका र योगदानलाई पुँजी, प्रविधि र प्रतिभा ( बुद्धि )को मूल्य र महत्तालाई महिमा मण्डनद्वारा निषेध गर्ने चिन्तन, प्रवृत्ति र प्रयास भैरहेको छ, जो अत्यन्तै गम्भीर, भयावह र दुखद कुरा हो !
११. यसप्रकारका आक्रमण र विचलनका विरुद्ध तीखो निर्णायक वैचारिक र व्यावहारी दुवै संघर्ष संचालन गरी तिनमाथि विजय प्राप्त गर्नु जरुरी भएको छ !
१२. यो विजय प्राप्त गर्न नसके-नगरे मजदुर आन्दोलन धराशायी हुनेछ । तत्पश्चात् मई दिवसको ईतिहास र औचित्य गुम्नेछ अनि यो दिवस मनाउनु वा मजदुर आन्दोलन संचालन गर्नुको खासै अर्थ, महत्व र उपादेयता रहने छैन !
१३. अहिले मई दिवस पुँजीवादी साम्राज्यवादीजस्ता चरम प्रतिक्रियावादीहरुदेखि सुधारवादी संशोधनवादी हुँदै खाँटी कम्युनिस्ट क्रान्तिकारीहरुसम्म सबैले मनाउँछौ । यो मनाउँदाखेरि सबैजसोले चाडपर्वको रुपमा वा पूर्ण र स्थायी विजय प्राप्त गरेजस्तो रुपमा रुपपक्षमा बढी जोड दिएर नाराजुलुस, भीषणभाषण र मन्तव्यवक्तव्यहरुद्वारा मनाउँछौं तर वर्गसंघर्षलाई तीव्र, उच्च, सशक्त र निर्णायक बनाउने कामकुरा हामी मालेमावादी क्रान्तिकारीहरुले समेत गर्दैनौं । यो सुधारवाद हावी हुनुको दुखद अवस्था हो । यसप्रती गम्भीर हुनु जरुरी छ ।
१४. मई दिवसका सन्दर्भमा सबैजसोले मजदुरको तलबसुविधा बृद्धि, पेशागत उन्नयन र अवसर प्राप्तिको मागमै सिमित भएर कामकुरागर्दछौं ! यसो गर्नुको अर्थ क्रान्तिकारी मजदुर आन्दोलनमा अर्थवाद र जुझारु अर्थवादले मजदुरवर्ग, यसको चेतना र संघर्षलाई भुत्ते बनाएको परिणाम हो ।यसलाई धारिलो बनाएर संघर्षलाई सफल र सार्थक निष्कर्षमा पुराउने तर्फ विशेष ध्यानदिनु आवश्यक भएको छ ।१५. मजदुर वर्गको मुक्तिको लागि अन्य सम्पूर्ण शोषितपीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायको मुक्ती पनि एक अनिवार्य शर्त हो । तसर्थ यी सबै आन्दोलनालाई एकीकृत, संयोजित र परिपूरक आन्दोलनको रुपमा विकास गर्नु अत्यावश्यक हुन्छ ।
१६. यसरी नै यो आन्दोलनको वचारिक मार्गदर्शन मालेमावादले गर्नुपर्दछ भने नेतृत्व सर्वहारावर्गको अग्रदस्ता कम्युनिस्ट पार्टीले गर्नु नै पर्दछ । यसनिम्ति सबैदेसका क्रान्तिकारी मजदुर संगठनलगायतका सबै जनवर्गीय संगठनहरु एक ठाउँमा आउनु अनिवार्य छ भने एउटा देसका सबै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुमात्र होइन विश्वभरिकै क्रान्तिकारी कम्युनिस्टहरुको समेत एउटा एउटा केन्द्र बन्नु-बनाउनु र राष्ट्रिय र अन्तर्राष्ट्रिय आन्दोलनको संयोजन गरेर साम्राज्यवाद र प्रतिक्रियावादका विरुद्ध निर्णायक र अन्तिम युद्ध लड्नुको विकल्प छैन !
उपरोक्त कुराहरुलाई आत्मसात् गर्दै व्यवहारमा लागू गर्न हामी सबै मजदुरहरु र मजदुर वर्गका पक्षधरहरुलाई १३६ औं मई दिवसको यस ऐतिहासिक अवसरमा सद्बुद्धि आओस् भन्ने हार्दिक चाहना राख्दै यो अन्तिम युद्धमा मजदुर वर्गलाई पूर्ण सफलता मिलोस् भन्ने क्रान्तिकारी कामना गर्दछु !
लाल अभिवादन !!
नारायण शर्मा
अखिल नेपाल कम्युनिस्ट पार्टी. अध्यक्ष हुन्।

