इलाम — इलामको सूर्योदय नगरपालिका निवासी ४१ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको पुष्टि भएपछि नेपालमा पुनः कोरोना संक्रमणको त्रास बढ्न थालेको छ। पछिल्ला २५ महिनामा कोरोना संक्रमणबाट भएको यो पहिलो मृत्यु हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार यसअघि २०८० साल वैशाख २१ गते गण्डकी प्रदेशका ४७ वर्षीय पुरुषको मृत्यु संक्रमणका कारण भएको थियो। त्यसयता मृत्युसम्बन्धी कुनै पनि केस रिपोर्ट गरिएको थिएन।
उक्त महिला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत थिइन्। झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालबाट उनलाई थप उपचारका लागि नोबेल अस्पताल रिफर गरिएको थियो। अस्पताल प्रशासनका अनुसार उनी लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित थिइन् र पछिल्लो एक सातादेखि बिरामी थिइन्।
सोमबार नोबेल अस्पतालमा भर्ना गरिएकी ती महिलाको मंगलबार बिहान ६ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालका प्रबन्धक दिपेश राईले जानकारी दिए। कोरोना पुष्टि भएपछि चिकित्सकीय निगरानीमा राखिएकी उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो।
मृतकको शव परिवारलाई बुझाइसकिएको प्रहरीले जनाएको छ। स्वास्थ्य मन्त्रालयले पुनः सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ। महामारीपछिको शान्त अवधिमा आएको यो घटना संक्रमण अझै समाप्त भइनसकेको संकेतको रूपमा हेरिएको छ।

