काठमाडौं, असार १४ – जननेता मदन भण्डारीको ७४ औँ जन्म जयन्तीका अवसरमा शनिबार आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) मा पुनः सक्रिय राजनीतिक जीवनको घोषणा गरेकी छन्।
मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै भण्डारीले आफूले पार्टी सदस्यता नवीकरण गरिसकेको जानकारी दिँदै भनिन्, “फरक ढंगको राजनीतिक जिम्मेवारीबाट अलग भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तर दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु।”
पूर्वराष्ट्रपति भण्डारीले अब आफू नेकपा एमालेको परिवारको सदस्यको रूपमा पुनः जोडिएको उल्लेख गर्दै यसमा गर्व महसुस गरिरहेको बताइन्। उनले आफ्नो सक्रियताको पछाडि कुनै व्यक्तिगत उद्देश्य नरहेको स्पष्ट पार्दै देश र जनताको सेवा नै प्रमुख प्रेरणा भएको जनाइन्।
कार्यक्रममा उनले जननेता मदन भण्डारीका विचार स्मरण गर्दै भनिन्, “जनता भगवान हुन्, राजनीतिमा थकाइ हुँदैन।” उनले लामो राजनीतिक यात्राले आफूलाई बुझ्ने, सिक्ने र परिपक्व बनाएको अनुभव सुनाइन्।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रपति बनेकी भण्डारी २०७९ मा सात वर्षे कार्यकाल पूरा गरेर शीतल निवासबाट निजी निवास फर्केकी हुन्। त्यसपछि केही समय राजनीतिक गतिविधिबाट अलग रहेकी उनले अब पुनः एमालेमार्फत सक्रिय राजनीतिक यात्रा अगाडि बढाउने घोषणा गरेकी हुन्।

