काठमाडौँ । नेपालका लागि दिपल इभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले आफ्नो चर्चित इलेक्ट्रिक SUV ‘एस०७’ को नयाँ भेरियन्ट ‘आईसीए’ सार्वजनिक गरेको छ। यो नयाँ मोडेललाई क्यानका महासचिव पारस खड्का र एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा अनावरण गरेका हुन्।
कम्पनीले यो नयाँ गाडीको सुरुवाती मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकेको छ। दिपल एस०७ को यो नयाँ भेरियन्टमा नेक्स्ट-जेनेरेसन कनेक्टिभिटी, परिष्कृत डिजाइन र आधुनिक इन्टेलिजेन्ट सुविधाहरू छन्, जसले इभी अनुभवलाई नयाँ उचाइमा पुर्याउने दाबी कम्पनीको छ।
एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाका अनुसार, “यो अपग्रेड मात्र होइन, यो नेपालको हालसम्मकै सबैभन्दा बढी कनेक्टेड र सुन्दर इभी हो।”
उनले नेपालमा सार्वजनिक भएको डेढ वर्षमै ९५० वटा दिपलका गाडी सडकमा गुडिरहेको र यसले ६० प्रतिशत बजार हिस्सा ओगटेको पनि बताए। यो नयाँ इभीको सार्वजनिकरणले नेपालमा इभी क्रान्तिलाई नेतृत्व दिने एमएडब्लुको प्रतिबद्धता देखाउँछ।
आधुनिक कनेक्टिभिटी र प्रविधि
दिपल एस०७ ‘आईसीए’ मा नयाँ पुस्ताको कनेक्टिभिटी सुविधा छ, जसले ग्राहकलाई कारसँग सहजै अन्तरक्रिया गर्न मद्दत गर्छ। एपमार्फत जुनसुकै ठाउँबाट पनि कारका झ्याल खोल्ने-बन्द गर्ने, एसी चलाउने, चार्जिङको अवस्था हेर्ने र गाडीको लोकेसन ट्र्याक गर्ने जस्ता काम गर्न सकिन्छ। यसमा ४जी/५जी हटस्पट, इन्टरनेट कनेक्टिभिटी, स्मार्ट एप कनेक्टिभिटी, अमेजन म्युजिक, स्पोटिफाई र लाइभ नेभिगेसनको पनि सुविधा छ।
यसको प्रिमियम क्याबिन अनुभवलाई अझ उत्कृष्ट बनाउन ५३ इन्चको अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, हाई-पर्फर्मेन्स क्वालकम ८१५५ चिप, L2.5 अटोनमस ड्राइभिङ असिस्टेन्स सिस्टम, १५.६ इन्चको सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, फ्रेमलेस डोर र १.९ स्क्वायर मिटरको पानोरामिक ग्लास रूफ जस्ता सुविधा छन्।
पाँच वर्षसम्म ‘जेरो ओनरशिप कस्ट’ सुविधा
गाडी सार्वजनिक भएको अवसरमा एमएडब्लु वृद्धिले ग्राहकलाई ‘जेरो ओनरशिप कस्ट फर फाइभ इयर’ नामक योजनाको आकर्षक अफर ल्याएको छ। यसअन्तर्गत ग्राहकले पाँच वर्षसम्म अटोप्लस इन्स्योरेन्स, आवधिक मर्मत खर्च, विद्युत् शुल्क र सडक करमा छुट पाउनेछन्। यसले ग्राहकलाई सहजै दिपल एस०७ खरिद गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ।
एमएडब्लु वृद्धिले यस नयाँ गाडीको आकर्षक डिजाइन, आधुनिक प्रविधि र बेजोड ओनरशिप स्किममार्फत इभी सेग्मेन्टमा आफ्नो पहिलो स्थान कायम राख्ने अपेक्षा गरेको छ।

