काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जेन–जी पुस्ताको आन्दोलनलाई लोकतन्त्र विरोधीहरूले तोडमोड गर्ने षड्यन्त्र गरिरहेको दाबी गरेका छन्।
उनका अनुसार जेन–जी पुस्ताले संसद् विघटन वा संविधान खारेजीको माग गरेको होइन, बरु लोकतन्त्रलाई अझ जनपक्षीय बनाउन आवाज उठाएको हो। तर कतिपय घुसपैठियाले आन्दोलनलाई गलत दिशामा लैजाने कोसिस गरिरहेको उनले आरोप लगाए।
“लोकतन्त्र नै रहेन भने वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र संगठन गर्ने अधिकारसमेत हराउने खतरा हुन्छ। भ्रष्टाचार र कुशासनविरुद्ध बोल्ने अधिकारसमेत छैन भन्ने अवस्थाको सिर्जना हुन्छ,” नेपालले भने।
उनले जेन–जी पुस्ताले उठाएका मागहरूको संवोधन वर्तमान संविधान र संसद्भित्रै संभव हुने बताए। “भ्रष्ट नेताहरूलाई कारबाही गर्न सकिन्छ, उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गर्न सकिन्छ। संविधान संशोधन गरेर पनि आवश्यक सुधार गर्न सकिन्छ,” उनले जोड दिए।
नेपालले संविधान संशोधनपछि छिट्टै चुनावमा गएर ताजा जनादेश लिनुपर्नेमा बल दिएका छन्। साथै, आन्दोलनरत जेन–जीसहित सबै पक्षसँग सहकार्य गर्न आफ्नो पार्टी सधैं तयार रहेको पनि उनले प्रष्ट पारे।


