काठमाडौँ । नयाँ प्रधानमन्त्रीको स्वागतको तयारी गर्न गृह मन्त्रालयका कर्मचारीलाई शीतल निवासले निर्देशन दिएको छ । आज बिहानै मन्त्रालयलाई सम्पर्क गरी आवश्यक तयारी थाल्न भनिएको हो ।
जेनजीको मागअनुसार अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा ठूला दल र राष्ट्रपतिबीच सहमति भए पनि संविधानले तोकेको प्रक्रिया कसरी पूरा गर्ने भन्ने अन्योल भने कायम छ ।
बिहीबार राति राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा कांग्रेस र माओवादी नेताहरूसँग परामर्श गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने विषयमा छलफल गरेका थिए । सो क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता वर्षमान पुन, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी थिए ।
सहमति जुटेसँगै बिहीबार राति नै गृह मन्त्रालयका कर्मचारीलाई शीतल निवास बोलाइए पनि अन्तिम निर्णय नभएकाले उनीहरूलाई फर्काइयो । तर आज बिहान फोनमार्फत नयाँ प्रधानमन्त्रीको स्वागतको तयारी तत्काल थाल्न निर्देशन आएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
प्रतिनिधिसभा सदस्य नरहेको व्यक्तिलाई प्रधानमन्त्री कसरी नियुक्त गर्ने भन्ने विषयमा भने राष्ट्रपति पौडेल कानुनविद्हरूसँग अझै परामर्शमै रहेका छन् ।

