काठमाडौँ । नेपालीको महान् पर्व विजयादशमी तथा तिहार नजिकिँदै गर्दा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो देखिन थालेको छ ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका कारण त्रिभुवन विश्वविद्यालय र यसअन्तर्गतका क्याम्पस बिदा भएपछि विद्यार्थीहरू गृहजिल्ला फर्किन थालेका छन् ।
नयाँ बसपार्क सञ्चालक संस्था लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लका अनुसार यसअघि दैनिक ४–५ हजार यात्रु बसपार्कबाट बाहिरिने गरेका भए पनि अहिले सो संख्या बढेर १२–१५ हजार पुगेको छ । सार्वजनिक यातायात सञ्चालनमा आएपछि हालसम्म उपत्यका छोडेर गृहजिल्ला गएका यात्रुको संख्या ६५ हजारभन्दा बढी पुगेको मल्लले जानकारी दिनुभयो ।
यस वर्ष अग्रिम टिकट प्रणाली भने खोलिएको छैन । यातायात व्यवस्था विभागमा मङ्गलबार बसेको सरोकारवाला निकायहरूको बैठकले अग्रिम टिकट नखोल्ने निर्णय गरेको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले दसैँमा सामान्यतया यात्रुको भीड बढ्ने भए पनि यसपटक लामो बिदा र आन्दोलनको कारण यात्रु संख्या केही कम हुन सक्ने धारणा राख्नुभयो ।
हाल नयाँ बसपार्कबाट देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात सञ्चालन भइरहेका छन् । दसैँ अवधिमा सार्वजनिक यातायातलाई सहज र व्यवस्थित बनाउन सरकारले यही असोज ६ गते (घटस्थापना) देखि असोज २२ गतेसम्म नेपालभर रुट परमिट खुला गर्ने निर्णय गरेको छ ।

