काठमाडौँ । हरेक वर्ष आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज देशभर धूमधामका साथ मनाइँदैछ ।
महानवमीका दिन नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरिने परम्परा रहिआएको छ । यस दिन घटस्थापनाका दिन राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ भने दसैँघर, कोत र राज्यका अन्य देवी मन्दिर तथा शक्तिपीठमा दुर्गा भवानीको पूजा, बलि तथा स्तोत्र पाठ गरी धार्मिक विधि सम्पन्न गरिन्छ ।
यस अवसरमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गर्ने प्रचलन छ । बोका, राँगा, हाँस र कुखुराको बलि दिने चलन रहेको भए पनि पशुबलि नदिनेहरू कुभिण्डो, घिरौँला, काँक्रो, मूला र नरिवल चढाउने गर्छन् । साथै, पायस अर्पण गर्ने धार्मिक विधि पनि प्रचलित छ ।
अनेक ठाउँमा महाष्टमीको दिन बलि दिइ आज अर्थात् महानवमीका दिन ‘मार’ हान्ने परम्परा समेत रहिआएको छ । कतिपय शक्तिपीठमा भने आजै पञ्चबलि (हाँस, कुखुरा, बोका, भेडा र राँगा) दिने गरिन्छ ।
धार्मिक विश्वासअनुसार मार्कण्डेय पुराणमा वर्णित कथा अनुसार महानवमी तिथिकै दिन देवी चामुण्डाले रक्तबीज नामक राक्षसको वध गरेकी थिइन् । यही कारणले यस पर्वलाई विशेष महत्वका साथ मनाइने गरिन्छ ।
देशभरका शक्तिपीठ र देवीस्थानहरूमा आज बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ भने पूजाआराधना, बलि र जमरा चढाउने धार्मिक विधि सम्पन्न गरी महानवमी पर्व मनाइँदैछ ।

