काठमाडौँ । देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्ला दिनहरूमा स्थिर देखिएको वायुमण्डलीय स्थिति आज पनि यथावत रहेको भन्दै महाशाखाले अधिकांश भूभागमा मौसम सफा रहने जनाएको हो।
महाशाखाका अनुसार हाल गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ भने बाँकी प्रदेशहरूमा मौसम मुख्यतया सफा रहेको छ।
दिउँसोको क्रममा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहन सक्ने अनुमान गरिएको छ। त्यस क्षेत्रका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुने सम्भावना रहेको छ।
आज राति भने कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी देशभर मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।
महाशाखाले हालको मौसम अवस्थाले दैनिक जनजीवनमा खास प्रभाव नपर्ने भए पनि, उच्च हिमाली क्षेत्रका यात्रु तथा किसानलाई हल्का हिमपातको सम्भावनाबारे सचेत रहन अनुरोध गरेको छ।

