काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ। उनीमाथि लागेको चर्चित इँटाभट्टा हत्याकाण्ड प्रकरणमा अदालतले जन्मकैदको सजाय सुनाएको थियो। आलमको उपचारका क्रममा गएराति काठमाडौँ मेडिकल कलेज (केएमसी)मा मृत्यु भएको पुष्टि गरिएको छ।
काठमाण्डौ मेडिकल कलेज (शिक्षण अस्पताल)का अनुसार गएराति २ बजेर ५८ मिनेटमा उनले अन्तिम सास फेरेका हुन्। हृदयसम्बन्धी समस्या देखिएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो। डाक्टरले उनको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार गरिरहेका थिए।
गत जेठ महिनामा नक्खु कारागारबाट छुटेको केही समयमै आलमलाई ब्रेन स्ट्रोक भएको थियो। त्यसबेला उनलाई माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार नआएपछि पछिल्लो पटक उनलाई केएमसीमा सारिएको थियो।
रौतहट–२ बाट प्रतिनिधित्व गरेका अफताब आलम नेपाली कांग्रेसका प्रभावशाली तर विवादास्पद नेतामध्ये एक हुन्।
२०६४ सालको संविधानसभा निर्वाचनको तयारीका क्रममा रौतहटमा भएको बम विस्फोट घटनामा घाइतेलाई इँटाभट्टामा जिउँदै जलाएको आरोप उनीमाथि लागेको थियो।
उक्त घटनामा संलग्न रहेको प्रमाणका आधारमा जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। सो मुद्दा पछि सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।
राजनीतिक जीवनको सुरुवात विद्यार्थी राजनीतिबाट गरेका आलम कांग्रेसको मधेस क्षेत्रमा बलियो सञ्जाल भएका नेता थिए । उनी २०५६ सालमा पहिलो पटक सांसद बनेका थिए। त्यसपछि कांग्रेस नेतृत्वमा उनको प्रभाव निरन्तर रह्यो।
तर इँटाभट्टा हत्याकाण्डपछि उनको राजनीतिक जीवन विवाद र कानुनी जटिलतामा फँसेको थियो ।
मृत्युसँगै एक समय कांग्रेसको ‘पावरफुल’ भनिने नेताको अध्याय अन्त्य भएको छ।
अफताब आलमको निधनले नेपाली राजनीतिमा पुनः न्याय, अपराध र राजनीतिक संस्कृतिको सम्बन्धबारे बहस उठ्ने अपेक्षा गरिएको छ।

