काठमाडौं, २४ मंसिर २०८२—
७७औँ विश्व मानवाधिकार दिवसका अवसरमा नेपाली कम्युनिस्ट पार्टीका संयोजकले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दै विशेष संदेश सार्वजनिक गरेका छन्।
संयोजकले मानवाधिकारको वास्तविक अर्थ आत्मसम्मानसहित जीवन बाँच्न पाउने जन्मसिद्ध अधिकारको प्रत्याभूति भएको उल्लेख गर्दै, दलित, महिला, जनजाति, मधेसी, मुस्लिम, थारू, पिछडिएका क्षेत्र तथा अन्य उत्पीडित–उपेक्षित समुदाय आजसम्म पनि राज्यसत्ताबाटै संरक्षित विभेद र उत्पीडनको चपेटामा रहनु दुर्भाग्यपूर्ण रहेको बताए।
राज्यका हरेक निकायमा दलित, महिला, जनजाति, मुस्लिम, थारू लगायत समुदायको अर्थपूर्ण सहभागिता बिना समावेशी लोकतन्त्र पूर्ण हुन नसक्ने र मानवाधिकारको सार्थकता प्राप्त नहुने उनको भनाइ छ। जातीय, लैङ्गिक, धार्मिक, सांस्कृतिक तथा क्षेत्रीय सबै प्रकारका विभेद अन्त्य गरी समानतामूलक वातावरण निर्माण अघि बढ्नुपर्ने उनले जोड दिए।
महान् जनयुद्ध, १९ दिने जनआन्दोलन तथा विभिन्न अधिकारमुखी आन्दोलनको बलमा प्राप्त संविधानले मौलिक हकका रूपमा मानवाधिकार प्रत्याभूत गरे पनि ती अधिकार कागजमै सीमित हुन नहुने र प्रभावकारी कार्यान्वयन आजको सबैभन्दा ठूलो चुनौती रहेको संयोजकले स्मरण गराए।
यससँगै, द्वन्द्वकालका पीडितले न्याय, सत्य उजागर र परिपूरण पाउनु मानवाधिकारको अविभाज्य पक्ष भएको उल्लेख गर्दै, संक्रमणकालीन न्याय प्रक्रिया ढिला गर्न नहुने र पीडितका घाउमा मलम लगाउन राज्य जिम्मेवार रहनुपर्नेमा पनि उनले जोड दिए।
सामाजिक न्याय बिना कुनै पनि समाज समृद्ध, सभ्य र साँच्चै लोकतान्त्रिक बन्न नसक्ने उल्लेख गर्दै संयोजकले समावेशी लोकतन्त्र, सामाजिक न्याय र मानवाधिकारको पूर्ण कार्यान्वयनलाई सबैको साझा सङ्कल्प बनाउन आग्रह गरे।
अन्तमा, उनले ७७औँ विश्व मानवाधिकार दिवसले विभेद, अन्याय र दमनविरुद्ध एकजुट भई अघि बढ्न नयाँ ऊर्जा दिने विश्वास व्यक्त गर्दै पुनः शुभकामना व्यक्त गरे।


