काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र नभई सुशासनलाई द्रुत गतिमा संस्थागत गर्दै जाने सरकार भएको स्पष्ट पारेकी छन्।
भ्रष्टाचारविरुद्धको २२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले जेनजी आन्दोलनको जगमा बनेको सरकार भएकाले सुशासनका मुद्दामा परिणाममुखी काम भइरहेको बताइन्।
प्रधानमन्त्री कार्कीका अनुसार जेनजी आन्दोलनका मागअनुसारका उपलब्धि हासिल गर्न केही समय लाग्न सक्ने भए पनि भ्रष्टाचारविरुद्ध आवश्यक पर्दा ‘जुनसुकै हदसम्म’ कठोर निर्णय लिन सरकार पछि नहट्ने सुनिश्चितता दिइन्। उनका भनाइमा, राज्यका संयन्त्रहरू सक्रिय भइसकेका छन् र सुधारका प्रयास द्रुत गतिमा अघि बढिरहेका छन्।
उनले सुशासनका कदमले अत्तालिएका केही समूहले प्रत्यक्ष–परोक्ष रूपमा धम्की दिए पनि सरकार नडराई अघि बढ्ने उल्लेख गरिन्।
साथै, सम्बद्ध निकायका पदाधिकारी तथा राष्ट्रसेवकलाई व्यावसायिक स्वतन्त्रताका साथ विचलित नभई काम गर्न आग्रह गरिन् ।

