काठमाडौं: ओलीले आफू नेतृत्वको सरकारको पालामा एमसीसी पास गर्न मरिमेटेर लागेको दावी गर्दै नेतृ रामकुमारी झाँक्रीले अहिले त्यसको विरोधमा उभिनु गलत भएको बताइन् ।
शनिबार सुनसरीको इनरुवामा आयोजित नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रथम नगर कमिटीको भेलामा उनले महाकाली सन्धिमा ओली र रावलले राष्ट्रघात गरेको दावी गर्दै राष्ट्रवादलाई आफूलाई पायक पर्नेगरी ब्याख्या गरेको आरोप लगाइन् ।
‘खड्ग ओली हिजो एमसीसी पास गर्न कन्दनी सुक्र्याएर लागि परेको मान्छे आज एमसीसीको विरोध गर्दैछन् । त्यसकारण पायक पर्दाको बखत बोलिने राष्ट्रवाद ।
कमरेड भीम रावल आज एमसीसीको विरुद्धमा जसरी बोल्दैछन् । मलाई सम्झना छ–५३ सालमा यो भन्दा ठूलो राष्ट्रघाती सन्धि महाकाली सन्धि भएको थियो ।
भीम रावलको पोजिसन के थियो ? कमरेड खडगप्रसाद ओलीको पोजिसन के थियो ? महाकाली सन्धिका बेला’ उनले भनिन् ।
नेतृ झाँक्रीले ओलीको नेतृत्वमा रहेको एमालेको हालत सद्भावना पार्टीको जस्तै हुने टिप्पणी गरिन् ।

