काठमाडौँ: नेपाली फुटबल टिम र भारतीय फुटबल टीमबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ ।
दोस्रो खेलमा दुवै टिम प्रदर्शन सुधार गर्दै जित हात पार्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।
नेपाल पनि विगत दुई महिना देखि साफ च्याम्पियनसिपको तयारी गरिरहेको छ ।
दोस्रो खेलअघि शनिबार नेपाली टिमले एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रशिक्षण गरेको थियो ।
पहिलो खेलअघि प्रिम्याच कन्फ्रेन्समा नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताईरीले भारत बलियो टिम भए पनि जितकै लागि खेल्ने बताएका थिए ।
तर पहिलो खेल बराबरी भएपछि उनले नेपाली समर्थकसँग माफी माग्दै अझै सुधार गर्नुपर्ने बताए ।
भारतीय प्रशिक्षक इगोर स्टिमाकले भने भारत अझै २-३ गोलको हकदार भएको बताएका थिए ।
नेपाल र भारत दुवै टिम अहिले माल्दिभ्समा अक्टोबरमा हुने साफ च्याम्पियनसिपको तयारीमा छन् ।
यसै खेलमार्फत दुवै टिम आफ्नो कमजोरीलाई सुधार गर्दै साफका लागि तयार हुन चाहन्छन् ।
नेपाली टिम भारतसँगको खेलपछि सेप्टेम्बर १० मा थप बन्द प्रशिक्षणका लागि कतार जानेछ र उतैबाट सेप्टेम्बर २७ मा साफका लागि माल्दिभ्स प्रस्थान गर्ने कार्यक्रम छ ।
साफ अक्टोबर १ देखि १६ सम्म आयोजना हुनेछ ।
नेपाल र भारतबीच दोस्रो खेल आईतबार साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।
