काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा मेयर पदका उम्मेदवार तथा प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–८ बाट दोस्रो स्थान हासिल गरेका सुमन सायमी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने भएका छन्।
प्रतिनिधि सभा निर्वाचनको केही समयअघि सायमी नेकपामा प्रवेश गर्न लागेका हुन्। यसपटक पनि उनी काठमाडौं–८ बाटै उम्मेदवार बन्ने तयारीमा रहेको बताइएको छ। अघिल्लो निर्वाचनमा सायमी दोस्रो भएका थिए भने उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ निर्वाचित भएका थिए।
सायमी अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका थिए। उनको चुनाव चिन्ह ‘लौरो’ थियो। यही लौरो चुनाव चिन्हबाट काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह निर्वाचित भएपछि सोही चिन्हलाई कायम राख्दै हाम्रो नेपाली पार्टी गठन भएको थियो।
सायमी र नेकपाबीचको एकता कार्यक्रम बुधबार राष्ट्रिय सभा गृहमा आयोजना गरिने बताइएको छ। सो कार्यक्रममा सायमी औपचारिक रूपमा नेकपामा समाहित हुनेछन्।

