काठमाडौं – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी बढेका छन्। निर्वाचन आयोगका अनुसार जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष कूल १ हजार ७६ उजुरी दर्ता भएका छन्।
आयोगले प्राप्त उजुरीमध्ये १ हजार ६१ अर्थात् करिब ९९ प्रतिशत उजुरी फर्स्योट भइसकेको जनाएको छ।
प्रदेशगत रूपमा सबैभन्दा धेरै उजुरी लुम्बिनी प्रदेशमा २४४ वटा परेका छन् भने सबैभन्दा कम उजुरी सुदूरपश्चिम प्रदेशमा ९६ वटा दर्ता भएका छन्।
प्राप्त उजुरीमध्ये ९७ लिखित र ९७९ उजुरी टेलिफोन, एसएमएस तथा अन्य माध्यमबाट प्राप्त भएका निर्वाचन आयोगले बताएको छ। आयोगका अनुसार तोकिएको आकारभन्दा ठूला तुल, ब्यानर र झण्डा प्रयोगसम्बन्धी उजुरी सबैभन्दा बढी देखिएको छ।
यसका साथै सामाजिक सञ्जालको दुरुपयोग, डिजे–माइक प्रयोग गरी ध्वनि प्रदूषण गर्ने, शिक्षक तथा कर्मचारी र स्थानीय जनप्रतिनिधि प्रचारप्रसारमा संलग्न हुने, सार्वजनिक स्थान तथा सवारीसाधनमा झण्डा राख्ने तथा तुल/ब्यानर टाँग्ने, अनुमति नलिएका सवारी प्रयोग गर्ने जस्ता विषयमा पनि उजुरी परेको आयोगले जनाएको छ।

