दाङ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले यसपटक डिजिटल प्रविधिबाट सार्वजनिक गर्ने भएको छ।
विगतमा स्पिकरमार्फत मतपरिणाम सुनाइँदै आएकोमा अब भने डिस्प्ले बोर्ड राखेर प्रत्यक्ष रूपमा परिणाम देखाउने तयारी गरिएको छ। कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार मतपरिणाम डिस्प्ले बोर्डसँगै वेबसाइटमार्फत पनि सार्वजनिक गरिनेछ।
उनले डिजिटल प्रणालीमार्फत एकद्वारबाट परिणाम सार्वजनिक हुने भएकाले प्रक्रिया थप व्यवस्थित र विश्वसनीय हुने बताए।
मतगणनाको प्रगति अनुसार कति लटमा परिणाम सार्वजनिक गर्ने भन्ने निर्णय गरेर दाङ का तीनवटै निर्वाचन क्षेत्रको मतपरिणाम डिजिटल माध्यमबाट सार्वजनिक गरिने तयारी गरिएको छ।
यस अभ्यासलाई लुम्बिनी प्रदेश भर विस्तार गर्ने योजना भए पनि तत्कालका लागि दाङमै परीक्षणस्वरूप लागू गरिने कुँवरले जानकारी दिए।

