काठमाडौं: मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले मुक्तिनाथ मन्दिर खुलाउने निर्णय गरेको थियो ।
मन्दिर गत वैशाख महिनादेखि बन्द गरिएको थियो ।
मापदण्ड तोकेर बाहिरी जिल्लाका तीर्थयात्री र भक्तजनका लागि मुक्तिनाथ मन्दिरमा पूजाआजा खुलाइएको छ ।
स्वदेशीका लागि पिसीआर, एन्टिजेन परीक्षणको रिपोर्ट वा कोरोनाविरुद्धको खोप लगाएकोमध्य कुनै एक प्रमाणको आधारमा मुक्तिनाथमा प्रवेश दिने निर्णय भएको छ भने विदेशीका लागि सात दिनभित्रको पिसीआर रिपोर्ट अनिवार्य गरिएको जनाइएको छ ।
निषेधाज्ञा र मुक्तिनाथ खुलेसँगै निषेधाज्ञाले थला परेको मुस्ताङका होटल र पर्यटन व्यवसाय चलायमान, जनजीवन सहज र विकास निर्माणले गति लिने अपेक्षा गरिएको छ ।
यसै ठाउँको बाटो भएर बौद्ध भिक्षु पद्मसम्भव बौद्ध धर्मको प्रचारका लागि तिब्बत गएकाले यसलाई बौद्ध धर्मावलम्बीहरुको पनि तीर्थस्थल मानिन्छ । १०८ धारामा स्नान र मुक्तिनाथ मन्दिरमा पूजाआजा तथा दर्शन गर्ने चलन छ । मन्दिर परिसरमा गुम्बा पनि छ ।
