कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा आफू केन्द्रीय सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ । कांग्रेस नागार्जुन नगरसमितिले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा आफूले सभापति पदमा उम्मेदवारी दिने बताउनुभएको हो ।
विसं २०७२ मा भएको पार्टी १३औँ महाधिवेशनमा आफू सभापतिमा नउठेर नेताद्वय रामचन्द्र पौडेल र शशाङ्क कोइरालालाई सभापति र महामन्त्रीमा सघाएको उल्लेख गर्दै भन्नुभयो, “अहिलेसम्म काठमाडौँबाट को पार्टी सभापति भएको छ ? के हामी सधैँ अरुको झोला मात्रै बोकेर हिँड्नुपर्ने ?”
उहाँले नेता पदमा पुग्न होडबाजी गर्ने तर पद पाइसकेपछि काम नगर्ने प्रवृत्ति देखा परेको धारणा व्यक्त गर्दै आफूलाई नेता तथा कार्यकर्ताले सभापतिका लागि अगाडि बढ्न सुझाव दिएको बताउँदै उहाँले आफूलाई सभापतिमा सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

