प्रधानमन्त्री देउवाले यसअगाडि बालकृष्ण खाणलाई गृहमन्त्री, नारायण खड्कालाई परराष्ट्र मन्त्री, ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन मन्त्री र उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाइसकेका छन्। उनीहरू सबै देउवानिकट हुन्।
आज थप गर्न लागिएका मन्त्रालयमा भने देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षलाई पनि समेट्ने भएका छन्।
पौडेल पक्षबाट दिलेन्द्रप्रसाद बडु र मिनेन्द्र रिजाल मन्त्री बन्ने तयारीमा छन्। पौडेल पक्षलाई रक्षा र कानुन मन्त्रालय दिने तयारी देउवाको छ। बडुलाई पौडेल र रिजाललाई महामन्त्री शशांक कोइरालाले मन्त्री बनाउनुपर्ने बताएका हुन्।
यसअगाडि पौडेलले आफूहरूलाई कम्तिमा ३ मन्त्रालय दिइनुपर्ने माग प्रधानमन्त्री देउवासँग राखेका थिए। तर देउवाले दुई मन्त्री मात्र दिन सकिने बताएका थिए। पौडेल पक्षबाट तेजुलाल चौधरी पनि मन्त्री हुने चर्चा थियो।
यस्तै अहिले कानुन मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि मन्त्री बनाउने तयारी प्रधानमन्त्रीको रहेको उक्त स्रोतले जानकारी दिएको छ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा उमा रेग्मीलाई पठाउने तयारी छ। रेग्मी सभापति देउवानिकट हुन्।
पूर्वमहामन्त्री सिटौला पक्षबाट उमाकान्त चौधरीलाई मन्त्री बनाउने तयारी छ। भीमसेनदास प्रधान पनि मन्त्रीका लागि आकांक्षी छन्। सिटौला पक्षलाई युवा तथा खेलकूद मन्त्री दिने तयारी देउवाको छ। मन्त्री नियुक्त गर्ने बेलासम्म यी नामहरू हेरफेर पनि हुनसक्ने स्रोत बताउँछ।
कांग्रेसले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि आफैँसँग राखेको छ। यो मन्त्रालय प्रधानमन्त्री देउवाले आफैँसँग राख्ने तयारी गरेका छन्।

