२२ गते, बुधवार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी (एस) ले मन्त्रीको टुंगो लगाएका छन् ।
जनता समाजवादी पार्टी (जसपा)ले चार मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको छ । अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, रेणू यादव, रामसहायप्रसाद यादव र प्रमोद साहको नाम बुझाएका हुन् ।
स्रोतका अनुसार राजेन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन, रेणूले भौतिक पूर्वाधार तथा यातायात, रामसहायले वन तथा वातावरण र प्रमोदले कृषि तथा पशुपंक्षी मन्त्रालय पाउनेछन् ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीले विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने भएको छ । एकीकृत समाजवादीबाट खतिवडासँगै सचिव रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ ‘किसान’ मन्त्री र भवानी खापुङ राज्यमन्त्री बन्दैछन् ।
उनीहरुको नाम प्रधानमन्त्रीसमक्ष पठाइसकिएको एक नेताले जानकारी दिएका छन् । स्रोतका अनुसार झाँक्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, आले शहरी विकास र श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् ।

