–विश्वनाथ खरेल
नेपालमा मनाइने जुनसुकै पर्व पनि जात–जाति र मानवसँग आधारित पर्व छन् । त्यसरी तराईमा बस्ने हिन्दुहरुको महान् चाडको रुपमा लिइने छठ पर्वको पनि आफ्नै ऐतिहासिक र सांस्कृतिक महत्व रहेको छ । वस्तुतः छठपर्व पनि खासगरी तराईबासीमा मैथिली, भोजपुरी र अवधि भाषाभाषीहरुले मनाउँदै आएको महत्वपूर्ण साँस्कृति पर्व हो । यो प्रत्येक वर्ष कात्तिक शुक्लषष्ठीका दिन मनाइने छठपर्व हो । यो पर्वमा सूर्यको पूजा, उपासना गर्नुका साथै स्वादिष्ट परिकारहरु विशेषगरी ठेकुवा, भुस्वा कसार आदि पारिवारिक र आफन्तजन एकै ठाउँमा बसेर खाने गरिन्छ । यस पर्वको पहिलो दिन कात्तिक शुक्ल चतुर्थीका दिनलाई ‘अरबा–अरबाइन’ वा नहान खान भन्ने गरिएको छ । व्रतीले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी यस दिनदेखि व्रत वस्न थाल्छन् । त्यसपछि दोस्रो दिन पञ्चमी तिथिलाई ‘खरना’ भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरुवा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले यस दिन दिनभरि निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस गरेर सोही प्रसाद ग्रहण गर्छन । यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ । त्यस्तै गरी षष्ठीका दिन गहुँ र चामल ओखल, जाँचो वा ढिकीमा कुटान–पिसान गरी सोबाट निस्केको पिठोवाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । यसरी पर्वको अन्तिम दिन सप्तमीका दिनलाई पार्वण भनिन्छ । यस दिन विहान उषाकालमा व्रत गर्नेहरु पुनः जलाशयमा पुगी अधिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातःकालीन सूर्यलाई अर्ध दिन्छन । यसरी अर्ध सम्पन्न भएपछि सूर्य पुरान श्रवण गर्ने चलन छ । यसमा व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन् । त्यसपछि छठपर्व सम्पन्न हुन्छ । यो सूर्यको ब्रत बस्ने वा उपसना गर्ने पर्व हो । यस मध्ये छठपर्व पनि एक हो । हिन्दू धर्ममा छठपर्व कात्तिक र चैत महिना गरी वर्षको दुईपल्ट मनाइने भए तापनि कात्तिक शुक्ल पक्षमा भने विशेष र बृहत् रुपमा सूर्यनारायणको पूजा गरिन्छ । अस्ताचलमा पुगेका सूर्यको आराधना र उदीयमान सूर्यको पूजा आजा गरिने यो पर्व लक्ष्मीपूजाको छैटौ दिनमा पर्दछ । यो पर्वमा भगवान्लाई अर्पण गर्न बनाइएका खाद्य परिकार चोखो हुनुपर्ने, जुठो पर्न भए अनिष्ट हुने र कुष्ठरोगको शिकार हुनुपर्ने धार्मिक विश्वास रहेको छ । यसर्थ पूजा सकिएपछि ब्रतालुले यिनै प्रसादको रुपमा आफूले खाने र ब्रत नबस्ने घरका सदस्यहरुलाई पनि खुवाउने चलन छ ।
सयौं वर्ष अधि देखि यो पर्व खास गरी कन तराई भागमा बसोबास गर्ने हिन्दूहरुले मान्दै आएका छन् । यो पर्व कहिले देखि मनाएको भन्ने चाही ऐतिहासिक लिखोट भने हालसम्म पनि कतै प्राप्त हुन सकेको छैन् । हाल यो पर्व के तराई , के पहाड, के काठमाडौं सवै ठाउँमा मनाउँन लागेकोे पाइन्छ । केही वर्षअघिसम्म काठमाडौं बासीहरुलाई छठपर्वका सम्वन्धमा केही थाहा थिएन । यसरी ८–९ वर्षयता यो यहाँका बासिन्दाका लागि मनचिन्ते पर्वका रुपमा परिचित हुँदै गएको छ । यसमा खासगरी कन यस ब्रतप्रति रुचि राख्ने महिला तथा पुरुषवर्ग, साना–साना बालबालिकाहरु समेतले पनि छठको ब्रत बसी पूजा आजा गर्न मन पराउनेको संख्यामा बृद्धि भएको पाइन्छ । यहाँ खास गरीकन थापाथलीको बागमतीको किनार र पशुपतिनाथको बागमतीको किनारमा ब्रत बस्ने ब्रतालुहरुको संख्या बढ्दै गएको देखिन्छ । यस पर्वमा सवै उमेरका महिलाहरु सक्रिय रहने छठ पर्वमा कात्तिक शुक्लषष्ठीका दिन अस्ताउँदो सूर्यलाई पूजा गर्ने र रातभर जाग्राम बसी भजनकीर्तन गरी पुनः बिहान उदाउँदो सूर्यलाई पूजा गरिन्छ । देबीभागवतअनुसार षष्ठीको ब्रत र पूजापाठ गर्ने व्यक्तिलाई मनोकामना पूरा हुन्छ । भनिन्छ यो ब्रत बसेमा छठीमाईको ब्रत र पूजा आराधना गरे धन, पुत्र, पति वा मनले चिताएको वर प्राप्ति र छालासम्वन्धी, कुष्ठ रोगहरुबाट मुक्ति पाइने लोकोकृत जनमानसमा रहेको छ । त्यसैगरी पौराणिक कथाअनुसार महाभारत पर्वको कथाअनुसार पाँच पाण्डव, गान्धार राजा शकुनी जुवा खेल्दा पाँच पाण्डव जुवामा सर्वस्व सम्पत्ति र दरबारसमेत हारेपछि बनवास जानुपरेको र पाण्डवपत्नी द्रौपदीले एक सय आठ पटक सूर्यको मन्त्र जप गरी षष्ठीको दिन छठ पर्वको ब्रत बसेका कारण ब्रतको प्रभावले आफनो सम्पूर्ण पाप र दशाग्रह शान्त भै पुनः पाण्डवहरुले राजकाज सम्हाल्न पाएको कुरा उल्लेख छ । सूर्यपुराणमा वर्णन भएअनुसार अत्रि मुनिकी पत्नी अनसुयाले कात्तिक शुक्ल षष्ठीको ब्रत गरेपछि छठ पर्वको शुभारम्भ भएको हो भने अर्कोतिर द्वापरयुगमा पाण्डपकी आमा कुन्तीले आफ््ना गुरुबाट पाएको मन्त्रको परीक्षण गर्न सूर्यको उपासना गर्दा प्रसन्न भएका सूर्य स्वय उपस्थित भई आफूजस्तै तेजस्वी पुत्र कर्ण दिएर उनको मनोकामना पूर्ण गरिदिएका थिए । त्यसैबेलादेखि नै छठ पर्वको परम्परा चल्दै आएको मान्यता छ ।
समग्रमा भन्नुपर्दा हिन्दूहरुको महान चाड लगत्तै तराईका विभिन्न स्थानमा महत्वपूर्ण पर्व छठको तयारी धूमधामका साथ भइरहेको छ । हाम्रो देशको तराई भूभागको विभिन्न शहरहरुमा विद्यमान पोखरी, सागर, नदी, ताल, तलाउ आदिमा पनि छठपर्वलाई आकर्षक र झकिझकाउ बनाउन सबैतिर प्रकाशको व्यवस्था गरिएको छ । यसरी राति घाटमा ब्रतालु र सर्वसाधारणलाई बसाउन धार्मिक र सांस्कृतिक कार्यक्रमको आयोजनासमेत गर्ने गरिन्छ । यो ब्रतमा पशुबधबाट पूर्णरुपमा पृथक रहेको हुन्छ । यसमा विशेषगरी शुक्लपक्षमा मनाउन यो पर्व चार दिनसम्म मनाइन्छ । यसरी अन्तिम दिन बिहानै उषाकालमा व्रत गर्नेहरु पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातकालीन सूर्यलाई अर्घ दिई पर्वको समापन गरिन्छ । जुन अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । जसरी व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन् । यस पर्वमा यथासम्भव टुप्पोमा पात भएको चारवटा उखु गाडेर त्यसभित्र पूजा गर्ने चलन पनि रहेको छ । प्रातः कालीन अर्घमा दीपमालाले सजिएका जलाशयमा अपूर्वको अनुभूति हुन्छ । यस वर्षको छठ पर्व कार्तिक २२ गते बिहीबार परेको छ । यो व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रहेको पाइन्छ।

