चीनको सिजाङ अटोनोमस रिजनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पबाट कम्तीमा १३० जना घाइते भएका छन्। भूकम्प स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको गएको थियो। चाइना अर्थक्वेक नेटवर्क सेन्टरले भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको जनाएको छ।
नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ।
नेपालमा भने यो भूकम्पले ठूलो मानवीय क्षति नगरेको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार सङ्खुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र पाँचथरमा भूकम्पको कडा धक्का महसुस गरिएको छ। इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरमा भने सामान्य धक्का महसुश गरिएको छ
नेपालमा भने यो भूकम्पले ठूलो मानवीय क्षति नगरेको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार सङ्खुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र पाँचथरमा भूकम्पको कडा धक्का महसुस गरिएको छ। इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरमा भने सामान्य धक्का महसुस गरिएको छ।
गृह मन्त्रालयका अनुसार भूकम्पले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित प्रहरी चौकी भवन चर्किएको छ। रामेछापमा एउटा गोठमा क्षति पुगेको छ भने ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरहरूमा क्षति पुगेको जानकारी आएको छ।
काठमाडौँको स्युचाटारमा घरको छतबाट हामफाल्दा एक जना घाइते भएका छन्। उनलाई अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै, बाराको कलैया उपमहानगरपालिका–१ स्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा अध्ययनरत ११ जना विद्यार्थी भूकम्पको डरले बेहोस भएका थिए। उपचारपछि उनीहरूको स्वास्थ्य सामान्य रहेको र सबै डिस्चार्ज भइसकेका छन्।
यो भूकम्पले नेपालमा मानवीय क्षति नगरे पनि पूर्वका विभिन्न स्थानमा सामान्य संरचनागत क्षति पुर्याएको छ। सरकारले भूकम्प प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

