काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा निर्माण भएको ओभरपास उद्घाटन गरेका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार ओभरपासको उद्घाटन गरेका हुन् ।
योसँगै ट्राफिक जामको सास्तीबाट सर्वसाधरणले राहत पाउने भएका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौँ उपत्यकामा निर्माण सम्पन्न बहुप्रतीक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको हो ।
दुई वर्षभित्र काम सम्पन्न गर्ने शर्तमा २०७८ फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायीसँग केन्द्रले ठेक्का सम्झौता गरेको थियो। २०८० फागुन ११ गते ठेक्का सम्पन्न गर्ने तोकिएको समयमा निर्माणसम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुने गरी फेरि दोस्रोपटक म्याद थप भएको थियो।
फेरि पनि तोकिएको समयमा निर्माण सम्पन्न हुन नसकेपछि २०८१ पुस ८ गते सम्पन्न गर्ने गरी म्याद थप भएको थियो। आयोजनामा समस्या देखिएपछि गत पुस र माघमा गरी एक महिना जति आयोजना निर्माणको कामसमेत ठप्प भएको थियो।
ठेकेदार कम्पनीले पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न नगरेपछि करिब एक करोड ४७ लाख हर्जना तिराएर निर्माण सम्पन्न गरिएको हो। एप्रोच सडक निर्माणका क्रममा माटो थपिँदै जाँदा सातदोबाटोतर्फको भागमा जगको माटो असमान रूपमा थिचिएकाले पनि थप समय लागेको आयोजनाले बताएको छ ।
ग्वार्को ओभरपासको कुल र्याम्प र पुलको लम्बाइ ५७६ दशमलव २ मिटर, ग्वार्को चोकबाट लगनखेलतर्फ तीन सय २० मिटर र सातदोबाटोतर्फ एक सय ८५ मिटर लामो ओभरपास छ। दुवैतर्फ चार तहको कालोपत्र गरिनुका साथै ओभरपासको र्याम्पको दूरी भने १० दशमलव २ मिटर छ।
तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा सुरूको सम्झौताभन्दा १४ करोड लागत वृद्दि भएको छ।
सम्झौताअनुसार निर्माणपश्चात् निर्माण कार्यमा पाँच वर्षसम्म र डिजाइनमा १० वर्षसम्म कुनै त्रुटि देखिएमा उक्त त्रुटि सुधार गर्ने पूर्ण जिम्मेवारी निर्माण व्यवसायीको रहनेछ।

