काठमाडौं, असार ३०
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मानव तस्करीमा संलग्न भएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ।
युवराज सफल नाम गरेका व्यक्तिले आइतबार अख्तियारमा निवेदन दर्ता गर्दै ओलीलाई स्पेनमा भएको मानव तस्करी प्रकरणमा जिम्मेवार ठहर गर्दै कारबाहीको माग गरेका हुन्। सफलका अनुसार संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन गएका १० जना नेपाली स्वदेश नफर्किएको घटनामा तत्कालीन प्रधानमन्त्रीको रूपमा ओलीको प्रत्यक्ष भूमिका रहेको छ।
सफलले तत्कालीन श्रम मन्त्री लिलाबल्लभ अधिकारीलाई मानव तस्करी मुद्दामा पक्राउ गरिएको उदाहरण दिँदै, ओलीलाई पनि सोही आधारमा कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन्।
निवेदनमा उनीहरूले उच्च सरकारी पदमा रहेकाहरूको संरक्षणमा मानव तस्करी जस्ता गम्भीर अपराध भइरहेका आरोप लगाउँदै, जिम्मेवार पदाधिकारीहरूलाई उन्मुक्ति दिनु अन्यायपूर्ण हुने उल्लेख गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त निवेदनबारे प्रारम्भिक अध्ययन सुरू गरेको जनाइएको छ। यस विषयमा ओली पक्षबाट भने हालसम्म कुनै प्रतिक्रिया आएको छैन।

