काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्काले पछिल्लो दुई दशकमा नेपाली क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा ठूलो प्रगति गरेको बताएका छन्। यस सफलतामा सबै पक्षको योगदान रहेको उनको भनाइ छ।
बुधवार धुम्बाराहीमा आयोजित काठमाडौँ जिल्ला क्रिकेट संघको छैटौँ साधारणसभामा बोल्दै खड्काले नेपाली क्रिकेट अहिले स्थिरताको बाटोमा रहेको र एकदिवसीय मान्यता पाउन धेरै चुनौती पार गर्नुपरेको स्मरण गरे।
पहिले क्रिकेटमा स्रोतसाधनको अभाव भए पनि अब सबैले मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए। खड्काले भने, ‘हामीले विगतका सबै कुरा बिर्सेर ४५ जिल्ला, सात प्रदेश र खेलकुदका कार्यकारी निकायहरूले नेपाली क्रिकेटलाई अगाडि बढाउनुपर्छ।’
नेपाली क्रिकेटलाई अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उनले केन्द्रको प्रयासले मात्र पर्याप्त नहुने बताए। जिल्ला र प्रदेश क्रिकेटका मेरुदण्ड भएको भन्दै उनले आर्थिक रूपमा पनि बलियो बन्दै गएको जानकारी दिए।
खड्काले आगामी दिनमा जिल्ला र प्रदेशलाई थप कार्यक्रम गर्न र चुनौती सामना गर्न तयार रहन आग्रह गरे। उनले चुनौतीलाई अवसरका रूपमा लिएर अगाडि बढ्ने आशा पनि व्यक्त गरे। साथै, उनले सबैलाई एकीकृत भएर काम गर्न आह्वान गरे।

