काठमाण्डौ । नेपालमा मनसुनी वायु सक्रिय रहेकाले देशका विभिन्न भागमा पानी पर्ने क्रम जारी छ। अहिले मनसुनको न्यूनचापीय रेखा तराईको उत्तरी भागमा अवस्थित छ, जसका कारण मनसुनी हावाको प्रभाव केही कमजोर देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, बिहीबार बिहान पहाडी क्षेत्रमा सामान्य बदली भएको छ भने बाँकी ठाउँमा आंशिक बदली रहेको छ।
अहिले बागमती प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा र कोशी, मधेश, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी र लुम्बिनी प्रदेशसहित देशका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। बाँकी ठाउँमा भने आंशिक बदलीको सम्भावना छ। यसका साथै, कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा र अन्य प्रदेशका पहाडी र तराईका थोरै स्थानमा मध्यम वर्षा हुनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा भने भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, राति पनि देशभर सामान्य बदली रहनेछ। मधेश प्रदेश, कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा र बाँकी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा मध्यम वर्षा हुनेछ।
यसैगरी, कोशी प्रदेशको पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

